१ माघ, २०७७ १७:५१ मा प्रकाशित
245 पटक पढिएको
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा कोभिड–१९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्व स्वास्थ्य संगठन साउथ एसियाका खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा कोभिड विरुद्धको खोप लैजान सकिने सम्भवना र चुनौतिको बारेमा छलफल गरेको छ।
भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघले विज्ञको रायको आधारमा खोपको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
उनले नेपाल सरकारसँगको सहकार्यमा कोभिड–१९ विरुद्धको खोप किन्न संघ इच्छुक रहेको उल्लेख गरे । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाले सरकारले नेपालमा खोप लान प्रयाप्त तयारी नगरेको अवस्थामा विदेशमा बस्ने नेपालीले देशमा खोप भित्राउन ठूलो भूमिका निर्वाह गर्न सक्ने बताए ।
डा सुधीर खनालले नेपालले ल्याउने खोप डब्लुएचओबाट मान्यता प्राप्त हुनु पर्नेमा जोड दिए । तत्कालका लागि बेलायत, जर्मनी लगायतका मुलुकले उत्पादन गरेका खोप नेपाल ल्याउन सकिने बारे छलफल र तयारी भइरहेको उनको भनाइ छ ।
उनले भारतले बनाएको खोप सहजता र सुलभता एवं अन्यको तुलनामा सस्तो भएका कारणले नेपालको लागि उपयुक्त हुने बताए । उनले नेपालमा एउटै उत्पादनकर्ताको खोप भित्र्याउन नेपाल सरकारलाई सुझाव दिए । नेपालको आवश्यकता हेरेर मात्र खोप भित्राउनु पर्नेमा उनको भनाइ छ ।
नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।
भारत, चीन र रसियाबाट नेपालको लागि खोप ल्याउन सकिने उनको भनाइ थियो ।
डा. खनालले नेपालमा खोप खरिद गर्नका लागि आवश्यक ऐन तथा कानुन बाधक रहेको बताए । गैरआवासीय नेपाली संघ कोरियाका डा. देवी बस्नेतले साउथ कोरिया, चीन लगायतका देशसँग सहकार्य गरेर नेपाल सरकारले अघि बढ्न सकिने बताए । उनले विदेशमा रहेका नेपालीको सक्रियतामा नेपालमा खोप लैजान सक्ने प्रशस्त सम्भवना रहेको बताए ।
एनआरएन अमेरिकाका अध्यक्ष सुनील शाहले नेपालमा खोप पठाउन व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गरेर अघि बढ्न सकिने बताए ।
गैरआवासीय नेपालीले सरकारलाई सहयोग गर्दा आर्थिक सहयोग नगरेर सिधैं खोप उपलब्ध गराउँदा उचित हुने सुझाव दिए ।
गैरआवासीय नेपाली संघ अमेरिकका निवर्तमान अध्यक्ष डा केशव पौडेल, सत्य चौधरी, झूमा लिम्बु, बिमला सापकोटा, डा. सगर पौडेलले नेपालमा खोपका सम्भवनाका बारेमा आ–आफ्ना भनाइ राखेका थिए।
संघले नेपाल सरकारको आग्रहमा आर्थिक संकलनको तयारी गरेको छ । सरकारले बुधबार विज्ञप्ति जारी गर्दै खोप कोषमा योगदान गर्न सबैलाई आग्रह गरेको छ ।