बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

संसद पुनर्स्थापना नगरी चुनाव गर्न खोजे रक्तपात हुने सुजाताको चेतावनी

१ माघ, २०७७ १८:०१ मा प्रकाशित

809 पटक पढिएको

sujata koirala

काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुजाता कोइरालाले संसद पुनर्स्थापना नगरिकनै चुनाव गर्न खोजे रक्तपात हुने चेतावनी दिएकी छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनर्स्थापनाको विकल्प नभएको बताइन् । पार्टी सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको पनि कोइरालाको टिप्पणी छ।

असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उनको भनाइ छ । नेत्री कोइरालाले यसबारे केन्द्रीय कमिटी बैठकमा सवाल उठाउने समेत बताएकी थिइन् ।

‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ । उहाँ रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैँले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो,’नेत्री कोइरालाले भनिन् । उनले भनिन्, ‘तपाईँ ओलीका पछि लाग्‍ने होइन, कांग्रेसको अघि लाग्‍नुस्।’

देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा उनले आपत्ति जनाएकी थिइन् । कोइरालाले भनिन्, ‘चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’

३० वर्षदेखि देउवा बारम्बार प्रधानमन्त्री बन्दैआएको स्मरण गर्दै देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने तर त्यसभन्दा अघि संसद पुन: स्थापना गर्नुपर्नेमा उनले सुझाव दिइन् । नेत्री कोइरालाले कांग्रेस संसद पुनर्स्थापनाको पक्षमा आन्दोलनमा गइसकेको पनि बताइन् । संसद पुनर्स्थापना विना कांग्रेस चुनावमा नजाने पनि ठोकुवा गरिन् ।

यस्तै प्रधानमन्त्री केपी ओलीलाई पनि उनले रङ्ग बदलिरहने र बिचार बदलिरहने भएकाले उनलाई विश्वास गर्न नसकिने बताइन् । कोइरालाले भनिन्,‘ओलीजीलाई म विश्वास गर्न सक्दिनँ । अरुले पनि विश्वास गर्न छाडिसके । ओलीमा मीठो भाषण गर्ने र गलत काम गर्ने कार्यशैली छ । हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरु रुन्थे तर उनले रक्तपात मच्चाए ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome