सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

ट्रम्पविरुद्धको महाअभियोग तल्लो सदनबाट पारित, सुरक्षा चिन्तामा सांसदहरू

२ माघ, २०७७ ०९:१० मा प्रकाशित

642 पटक पढिएको

donald trump

काठमाडौं – अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो पटक महाअभियोग प्रस्ताव पारित गरेको छ। अमेरिकामा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति ट्रम्प बनेको जनाइएको छ।

अमेरिकी संसद् भवनमा बुधबार ट्रम्पका समर्थकले आक्रमण गरेपछि उनीविरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदले महाअभियोग प्रस्ताव अघि सारेका थिए। महाअभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको छ। महाअभियोग पारित हुन २ सय १७ मत आवश्यक थियो।

हाउस अफ रिपे्रजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका २ सय २२ जना सदस्य छन्। तर, ट्रम्पको रिपब्लिकन पार्टीका १० सांसदले पनि महाअभियोगको पक्षमै मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। महाअभियोग प्रस्तावको विपक्षमा १ सय ९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए।

हाउस अफ रिप्रेजेन्टेटिभ्सले सन् २०१९ मा पनि उनीविरुद्ध महाअभियोग पारित गरेको थियो। तर, त्यस समय भने उनको दल रिपब्लिकनका एक जना पनि सांसदले महाअभियोगको पक्षमा मत दिएका थिएनन्।

महाअभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पारित हुनुपर्नेछ। उक्त प्रस्ताव पारित हुन सिनेटको मतको दुईतिहाइ आवश्यक हुन्छ। यस प्रयोजनका लागि सिनेटमा कम्तीमा १७ जना रिपब्लिकन सिनेटर ट्रम्पको विपक्षमा अर्थात् महाअभियोगको पक्षमा उभिनुपर्नेछ। तर, यो सम्भावना भने कम देखिन्छ।

ट्रम्पलाई महाभियोग लगाउन रिपब्लिकन पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्‌मा उनीहरुबीच गहिरो विभाजन देखापरेको छ। तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको पक्षमा मतदान गर्ने उनको भूमिकालाई लिएर उनले पार्टी नेतृत्व तहबाट राजीनामा दिनुपर्ने मागको सामना गरिरहेकी छन्।

ट्रम्पविरुद्ध मतदान गरेका १० सांसदहरूले आफूहरूले हिंसाको खतरा सामना गरेको र सुरक्षा बढाइएको बताएका छन्। ट्रम्पले कार्यालय छाड्ने र सिनेटमा सुनुवाइको सामना गर्ने तयारी गरिरहँदा पछिल्लो अवस्था देखापरेको हो।

सङ्घीय जाँच ब्यूरो एफबीआईले डेमोक्र्याट राष्ट्रपति निर्वाचित जो बाइडनको बुधबार हुने सपथ समारोहका दिन वासिङ्टन डीसी र ५० वटा राज्यका राजधानीहरूमा सशस्त्र समूहको सम्भावित प्रदर्शनको खतरा औँल्याएको छ।

रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यू बुसका उपराष्ट्रपतिकी छोरी नेत्री चेनीले महाभियोगको पक्षमा मतदान गरे लगत्तै उनको राजीनामा माग गरिएको थियो। ट्रम्पका अनुदारवादी समर्थकहरूले पदत्याग गर्न आग्रह गरेपछि उनले भनिन्, ‘म केही गर्न गइरहेकी छैन, यो विवेकको मतदान हो।’

सुरक्षा चिन्तामा सांसदहरू

अर्का रिपब्लिकनले कैयौँ सहकर्मीले शरीर सुरक्षा गर्ने रक्षाकवच किनेको जानकारी दिए। उनका अनुसार सुरक्षा खतराका कारण ती सांसदहरूले हिंसाको चेतावनी पाएपछि नियमित तालिका परिवर्तन गर्न बाध्य भएका छन्।

मिसिगनका रिपब्लिकन पीटर मेइजरले बिहीबार भने, ‘कसैले हाम्रो हत्या गर्न खोज्छ भन्ने हामीलाई लागेको छ।’ उनले भविष्यमा के हुन्छ भन्ने थाहा नभएको बताए। ट्रम्पमाथि लागेको महाभियोगको अब सिनेटमा सुनुवाइ भएपछि छिनोफानो हुनेछ।

अमेरिकामै उपराष्ट्रपति माइक पेन्सले आउँदो साता हुने बाइडनको सपथ समारोहमा आफूले सुरक्षा सुनिश्चत गर्ने बताएका छन्। उनका अनुसार देशव्यापी रूपमा सुरक्षा सतर्कता बढाइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome