शुक्रबार, २१ फाल्गुन २०७७
शुक्रबार, २१ फाल्गुन २०७७

IT Training Nepal

मिटरब्याजी गिरोहका नाइकेलाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

५ माघ, २०७७ १७:०३ मा प्रकाशित

173 पटक पढिएको

district court morang biratnagar

विराटनगर – विराटनगरमा मिटरब्याजको जालो फैल्याएर अवैध धन्दा चलाउँदै सर्वसाधारणसँग चर्को ब्याज असुलिरहेको गिरोहका नाइकेलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ ।

‘मिटरब्याजी’ गिरोहको नेतृत्व गरिरहेका विराटनगर महानगरपालिका–९ का २८ वर्षीय एजाज अहमदलाई अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । वादी र प्रतिवादीका कानुन व्यवसायीको थुनछेक बहसपछि न्यायाधीश रोशनकुमार भट्टराईको इजालसले उक्त आदेश दिएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले बताए । उनकाअनुसार पछि ठहरे बमोजिम हुने गरी प्रतिवादीलाई तत्काल पूर्पक्षका लागि धरौटीमा छाड्न आइतबार साँझ आदेश भएको हो ।

प्रहरीले पक्राउ गरेर ‘अपराधिक लाभ लिएको’ कसुरमा कारबाही अघि बढाइएका एजाज अदालतले मागेको धरौटी वापतको रकम बुझाएर छुटिसकेको जानकारी दाहालले दिए । प्रहरीले अनुसन्धानको मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै एजाज र उनको गिरोहमा आवद्ध बनेर हाल फरार रहेका विराटनगर–९ कै ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानसहित चार जनाविरुद्ध अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको थियो ।

फरार रहेका तीन जनाको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनकाअनुसार एजाजको समूह थोरै पैसा लगानी गर्दै मिटरब्याजका नाममा चर्को ब्याज लिएर लगानीभन्दा तेब्बर बढी पैसा असुल्ने ‘नामुद’ गिरोह हो । लगानी गरिएका सर्वसाधारणहरुले पैसा दिन नसके वा नमाने यातना र धम्की दिने तथा अपहरण गर्नेसम्मका हर्कत यो गिरोहले गरेको पाइएको एसपी खड्काको भनाइ छ ।

उनकाअनुसार एजाज यसअघि हत्या प्रयास गरिएको घटनामा अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन् । प्रहरीले चलाएको ज्यान मार्ने उद्योग मुद्दामा अदालतले उनीविरुद्ध छ महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । कैद भुक्तान गरेर छुटेपछि भने उनी मिटरब्याजको धन्दामा लागेको प्रहरी दाबी छ ।

लगानी गरेको पैसा असुल्ने नाममा सर्वसाधारणलाई आतंकित बनाइरहेको पाएको एसपी खड्काले बताए । ‘मिटरब्याजी’ गिरोहविरुद्धको कारबाही तीव्र पारिएको र त्यो गिरोहको सञ्जाल भत्काएरै छाड्ने बताउँदै उनले यसरी कोही ठगिएको भए उजुरी दिन र प्रहरीको सम्पर्कमा आउन पनि सबैमा अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome