५ माघ, २०७७ १७:०८ मा प्रकाशित
613 पटक पढिएको
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन गरेको टिप्पणी गरेका छन्। सोमबार अखिल नेपाल महिला संघ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले ७० वर्ष लडेर ल्याएको गणतन्त्रलाई रक्षाका लागि संघर्षको मैदानमा उत्रन आह्वान गरे।
प्रचण्डले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी र निरंकुश कदम भएकाले यसकोविरुद्ध एकजुट भएर लाग्न आग्रह गरे। उनले अहिलेसम्मको उपलब्धी रक्षाका लागि जनताको अदालतमा जानुपर्ने तर्क गरे। उनले ढिलो नगरी जनअदालतमा गएर चाँडो फैसला सुनाउन तयार हुनुपर्ने स्पष्ट पारे।
प्रचण्डले गणतन्त्रलाई हुर्किँदै गरेको बच्चाको संज्ञा दिँदै त्यसलाई बचाउन जनअदालतको फैसला आवश्यक रहेको धारणा राखे। ‘हामी ढिलो नगरी जनताको अदालतले चाडो फैसला गर्यो भने सर्वोच्च अदालत, निर्वाचन आयोगलाई पनि सजिलो होला’उनले भने,‘हामीले रगत र पसिना बगाएर जन्माएको बच्चाको हत्या हुँदैछ, उसलाई आइसियूमा लगेर राखिएको छ। मार्ने षडयन्त्र भए अपराधीबाट। हामी आफूले जन्माएको बच्चा मार्न लागेको कुरा आँखा अगाडि हेर्न सक्दैनौं,जस्तोसुकै मूल्य चुकाउन तयार छौं।’
प्रचण्डले एकताका बेला भएको सहमति र सम्झौता ओलीले नमान्दा अहिलेको अवस्था आएको बताउँदै अध्ययन गर्न आग्रह गरे। उनले भने,‘प्रतिवेदन र सम्झौता अध्ययन गर्दा को सहि, को गलत छुट्याउन सहज हुन्छ।’ जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति पनि ओली भएको उनको भनाई थियो। ओली जबज त्याग्न तत्पर भएपछि आफू माओवादी र एक्काइसौँ शताब्दीमा जनवाद पनि त्याग्न र नयाँ कार्यदिशा तय गर्न तयार भएको धारणा राखे।
उनले सूर्य चिन्ह र लोगो आफूहरुले आधिकारिकता पाउने दाबी गर्दै शंका नगर्न पुन: आग्रह गरे। प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध आम हड्ताल गर्नुपर्ने अवस्था आउने बताए। अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने बताउँदै प्रचण्ड ९ गते देशका प्रमुख शहर र काठमाडौंमा हुने ऐतिहासिक प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरे।