शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

ट्रेड युनियन दर्ता विषयमा विवाद हुँदा श्रम कार्यालयमा तोडफोड

७ माघ, २०७७ ०९:२९ मा प्रकाशित

251 पटक पढिएको

labor office biratnagar

विराटनगर – ट्रेड युनियन दर्ता तथा नवीकरण प्रक्रियाका विषयमा विवाद हुँदा विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा मंगलबार दिउँसो तोडफोड गरिएको छ । नेपालकै उद्योग तथा कलकारखानामा कार्यरत भारतीय मजदुरलाई पनि ट्रेड युनियनमा आवद्ध हुन दिनुपर्ने माग गर्दै कार्यालयमा तोडफोड गरिएको हो ।

घटनामा संलग्न विराटनगरस्थित हुलास मोटर्समा कार्यरत दुईजना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का ६६ वर्षीय जोगीलाल यादव र विराटनगर–१६ का ४७ वर्षीय अर्जुनप्रसाद यादव रहेका छन् ।

विद्युतीय रिक्सा बनाएर बजारमा ल्याउने काम गरिरहेको हुलास मोटर्समा उनीहरु कार्यरत थिए । मोटर्सले यसअघि मुस्ताङ गाडी पनि बनाउँथ्यो । तोडफोडमा संलग्न रहेको पाइएपछि दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताए ।

श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत रामप्रसाद तिमल्सिनाका अनुसार तोडफोडबाट कार्यालयको उत्तरतर्फको झ्यालको सिसा फुटेको छ । उद्योग तथा कलकारखानामा कार्यरत मजदुर आवद्ध रहने ट्रेड युनियन दर्ता र नवीकरण प्रक्रियाका विषयमा विवाद हुँदा मजदुरहरु तोडफोडमा उत्रिएको जानकारी उनले दिए ।

‘मजदुरले ट्रेड युनियन दर्ताका लागि कार्यालयमा निवेदन दिएका थिए,’ तिमल्सिनाले भने, ‘त्यसकै प्रक्रिया अघि बढाउने क्रममा सनाखतका लागि बोलाइएका मजदुरहरु नियमविपरीतको माग गर्दै तोडफोडमा उत्रिएका हुन् ।’

नेपालमा मजदुरी गर्दै आएका भारतीय नागरिकले पनि युनियनमा प्रवेश पाउनुपर्ने माग गरेपछि अस्वीकार गरिएको थियो । नेपाली मजदुर आवद्ध युनियनमा भारतीय नागरिक रहन मिल्दैन भन्नसाथ उनीहरुले तोडफोड गर्न थालेको जानकारी उनले दिए ।

श्रमिकको हकअधिकार र श्रम ऐन कार्यान्वयनका लागि कुनै पनि स्थानमा कार्यरत मजदुरमध्ये कम्तीमा २५ प्रतिशतले ट्रेड युनियन दर्ता गर्न पाउने नियम रहेको शाखा अधिकृत तिमल्सिनाले बताए । युनियन प्रत्येक दुई÷दुई वर्षमा दर्ता र नवीकरण गर्नुपर्ने प्रावधान रहेको उनको भनाइ छ । तोडफोडका क्रममा मजदुरहरुले कार्यालयका कर्मचारीमाथि पनि हातपातको प्रयास गरेको प्रहरीले जनाएको छ ।

यसअघि पनि पुस १९ गते कार्यालयमा मजदुर संगठनमा आवद्ध दुई जना मजदुरहरुले तोडफोड गरेका थिए । तोडफोडमा संलग्न सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर प्रालिमा कार्यरत रमेश थापा र सुशील गच्छदार फरार छन् । पक्राउका लागि खोजी गरिरहे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

तोडफोड गर्नेमध्ये थापा नेपाल कारखाना श्रमिक संघका प्रदेश १ अध्यक्ष र गच्छदार सुनसरी जिल्ला अध्यक्ष रहेको कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । उनकाअनुसार कर्मचारीमाथि अश्लिल गाली गर्दै कार्यालय तोडफोड गर्ने दुवै जनालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकिएको छ । तर अझैसम्म उनीहरु पक्राउ परेका छैनन् ।

कार्यालयको सुरक्षार्थ हतियारसहितका प्रहरी कर्मचारी परिचालन गरिदिन आग्रह गरिए पनि अहिलेसम्म सुनुवाई नभएको सञ्जेलले बताए । उनकाअनुसार कार्यालयको मागको सुनुवाइ नहुँदा फेरि तोडफोडको अर्को घटना हुन पुगेको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome