मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

देशभरका सबै वडामा कांग्रेसको विरोध प्रदर्शन

८ माघ, २०७७ १६:४२ मा प्रकाशित

692 पटक पढिएको

congress on road against government

काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्‍त्री केपी ओलीको कदम अलोकतान्त्रिक तथा असंवैधानिक भन्दै नेपाली कांग्रेसले बिहीबार मुलुकभरका सबै वडामा विरोध प्रदर्शन गरेको छ।

संसद विघटनविरुद्ध निरन्तर आन्दोलित कांग्रेसले ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको हो। यसअघि कांग्रेसले पुस १३ गते १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन गरेको थियो।

आन्दोलनको समीक्षा र नयाँ रणनीति तय गर्न कांग्रेसले माघ १३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। दोस्रो चरणको विरोध कार्यक्रम सम्पन्‍न भएकोले अब आन्दोलनको नयाँ स्वरुप र कार्यक्रमबारे आन्तरिक गृहकार्य भइरहेको छ। आगामी केन्द्रीय समितिको बैठकले यसबारेमा ठोस् निर्णय लिने कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए।

आन्दोलनलाई निरन्तरता दिँदै अदालतको निर्णय कांग्रेसले पर्खेको छ। कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्‍त्रिक कदम भन्दै आए पनि पुनर्स्थापनाका पक्षमा संस्थागत निर्णय अहिलेसम्म भएको छैन। कांग्रेस ‘पर्ख र हेर’ को रणनीतिबाट अघि बढेको देखिन्छ।

नयाँ राजनीतिक घटनाक्रमपछि पार्टीभित्रैबाट दुईथरी विचार आएका छन्। एउटा पक्ष पुनर्स्थापनालाई बटमलाइन बनाएर अहिले नै सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा छ भने अर्को पक्ष अदालतको निर्णय कुर्नुपर्ने पक्षमा देखिन्छ। रामचन्द्र पौडेल पक्ष आन्दोलन चर्काउने पक्षमा भए पनि सभापति शेरबहादुर देउवा आन्दोलन चर्काउने मुडमा छैनन्। अदालतको निर्णय स्वीकार्य हुने र चुनावका लागि पनि कांग्रेस तयार रहेको सभापति देउवालगायतका पार्टीका नेताहरूले बताउँदै आएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome