सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

संसद पुनर्स्थापना नभए चुनावमा जानुपर्छ : यादव

८ माघ, २०७७ १७:०९ मा प्रकाशित

370 पटक पढिएको

upendra yadav

राजविराज – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायालयबाट संसद पुनर्स्थापना नभए निर्वाचनमा जाने बताए। राजविराजमा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै यादवले प्रतिनिधिसभा पुनर्स्थापनाको आवश्यकतामा जोड दिँदै प्रतिनिधिसभा प्राप्त गर्न जनताको अदालतमा जान समेत तयार रहेको बताएका हुन्।

संवैधानिक व्यवस्था अनुसार अदालतले संसद पुनर्स्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै यादवले भने– ‘सर्वोच्च अदालतले संसद विघटनलाई बैधता दिए सबैभन्दा ठूलो अदालत जनअदालतमा जान तयार छौ।’ अदालतको संवैधानिक व्याख्याभन्दा पनि जनताको मत बढी वैधानिक मानिने र सबैभन्दा ठूलो न्यायाधीश जनता नै भएको यादवले बताए।

‘निर्वाचनबाट आएको पार्टी र नेताहरू निर्वाचनमा जान डराएका होइनन्’ यादवले थपे– ‘संविधानको कुनै धारा नै नटेकी संविधान मात्र नभई लोकतन्त्र र परिवर्तनका विरुद्ध नै प्रहार भएकाले संसद पुनस्र्थापनाको पक्षमा आन्दोलित हुनु परेको हो।’

कोभिड–१९ का कारण साढे ६ खरबको नोक्सान बेहोरेको मुलुकको अर्थतन्त्रले ३ वर्षमै चुनावका लागि थप २० अरब खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै उनले घर झगडामा घरमा नै आगो लगाउने कार्य भएको बताए। नेकपाको पार्टी झगडामा सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च निकाय प्रतिनिधी सभा नै भंग गरेर प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र समाप्त पार्न खोजेको उनको आरोप थियो। यादवले निर्वाचन भन्दा स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्ने धारणा राखे।

एकातिर संसद विघटनलाई असंवैधानिक भन्ने र अर्कोतिर अदालतको आदेश अनुसार जान तयार रहेको कांग्रेसलाई भने उनले ढुलमुले चरित्रको संज्ञा दिए। केही राजनीतिक नियुक्तिको लोभमा नेपाली कांग्रेसको मुख्य नेतृत्व ढुलमुले चरित्रको भएकाले मुलुक प्रमुख प्रतिपक्षविहीन बनेको यादवले बताए। लोकतन्त्र रक्षाका लागि भूमिका खेल्न नसकेका कारण संसद विघटनको विरोधमा रहेका कांग्रेसका कार्यकर्ताहरू समेत अन्यौलमा परेको उनले बताए।

उनले प्रधानमन्त्री ओलीले विभिन्न आन्दोलन, संघर्षबाट प्राप्त धर्मनिरपेक्षता, समावेशी, समानुपातिक, संघीय लोकतान्त्रिक व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाए।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएकोले प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमलाई खारेज गर्नुपर्ने बताए।प्रतिनिधिसभा पुनर्स्थापना भएपनि, निर्वाचनमा गएपनि हिमाल, पहाड तराइका जनता अधिकार सम्पन्न नहुने भन्दै महतोले कम्युनिष्ट, कांग्रेसको विकल्प खोजे मात्र जनता अधिकार सम्पन्न हुने बताए। उनले एमाले छाडेर अशोक राई, काँग्रेस छाडेर महन्थ ठाकुर, माओवादी छाडेर बाबुराम भट्टाई र मधेसवादी दलहरू मिलेर जसपा वैकल्पिक शक्ति बनेको बताए।

नेपाल–भारत सीमामा तस्करी खुला रहेको र रोटीबेटीको सम्बन्ध भएको जनता लुकिछिपी आवतजावत गर्नुपरेको भन्दै महतोले सीमानाका बन्द गरेर कोरोना नरोकिने बताए। महतोले सीमाक्षेत्रका मधेसी नागरिकको दैनिकी जीवनलाई प्रभावित पार्न मात्र सीमानाका हालसम्म अवरुद्ध राखिएको आरोप लगाए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome