शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा प्रचण्ड-नेपालको शक्ति प्रदर्शन

९ माघ, २०७७ १८:३७ मा प्रकाशित

244 पटक पढिएको

uml protest against government

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। यो समूहले काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी ९ ठाउँबाट जुलुस निकालेर शक्ति प्रदर्शन गरेको हो।

विरोधसभामा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सहभागी भएका छन्। विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका थिए।

सभालाई नेकपाका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गरिसेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गरिरहेका छन्। यही पुष ५ गते प्रधानमन्त्री केपी ‌‌ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। त्यस लगत्तै नेकपा दुई खेमा भएको छ। एक पक्षको नेतृत्व प्रचण्डले लिएका छन् भने अर्को पक्षको प्रधानमन्त्री ओलीले लिएका छन्।

प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै सत्ता पक्षसहित विभिन्न राजनीतिक दलहरु आन्दोलित भएका छन्।

आन्दोलनको यो कास्टिङ मात्रै हो, फिल्म बाँकी नै छ : माधवकुमार नेपाल

विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको आन्दोलनलाई एक कास्टिङ मात्रै भएको र फिल्म बाँकी नै रहेको चेतावनी दिएका छन् ।

संसद विघटन विरुद्धको प्रदर्शनले जनआन्दोलनको झल्को दिएको पनि उनले बताए । शुक्रबार दाहाल-नेपाल समूहको नेकपाको काठमाडौँमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

सम्धोनको क्रममा उनले भने ‘यो त कास्टिङ मात्र हो । फिल्म सुरु हुन बाँकी नै छ ।’

यस्तै नेकपाले केपी ओलीलाई कारवाही गर्न थालेको पनि बताए । ओलीलाई अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट पनि हटाउनेबारे स्पष्टीकरण सोधिएको बताएका थिए ।

साथै ओलीसँग कुनै हालतमा आफूहरु नझुक्ने बरु ओलीले घुँडा टेक्नुपर्ने अवस्था छिट्टै आउने नेपालको भनाइ छ । सडकमा उर्लिएको जनसागरलाई उपेक्षा गर्ने गल्ती गरेमा त्यसको परिणाम गम्भीर हुने पनि नेपालले चेतावनी दिए । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभाजित दाहाल-नेपाल समूह निरन्तर आन्दोलनमा छ ।

सडकमा उर्लिएको जनसागरलाई अदालतले पनि देख्यो होला नि : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्।

प्रचण्ड-नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। उनले भने, ‘ओलीको सेटिङलाई अब जनताको सेटिङले परास्त गर्नेछ। अब सडकबाटै जनताले ओलीको सेटिङ भत्काउनेछन्। उनले अब छिटै ‘केपीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुने बताउँदै जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने दाबी गरे ।

उनले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नागरिक भावना र मतको सम्मान गर्न आग्रह गर्दै भने, ‘मलाई विश्‍वास छ। सर्वोच्च अदालत र निर्वाचन आयोगले जनमतलाई सम्मान गर्नेछन्। सडकमा उर्लिएको जनसागरलाई निर्वाचन आयोगले देखेको छ, देख्छ । सर्वोच्च अदालतले पनि देखेको छ, देख्छ।’

अब अर्को केपी ओली जन्मिनेवाला छैन : घनश्याम भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै अब अर्को ओली नजन्मियोस् भन्दै टिप्पणी गरेका छन्। प्रचण्ड-नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन नेता भुसालले यस्तो बताएका हुन्।

‘अब अर्को ओली नर्फियोस्, हाम्रो आन्दोनमा ओली जन्मिने छैन,’ उनले भने। उनले प्रधानमन्त्री ओलीले पार्टीलाई धोका दिएकाले घुँडा टेकाएर मात्र छोड्ने दावी गरे। ओलीलाई जसरी भएपनि पराजित गराइ छोड्ने भन्दै नेता भुसालले ओलीले संसदलाई आफ्नो निजी सचिवालय बनाएको आरोप लगाए।

उनले प्रधानमन्त्रीसँग दुईवटा मात्र शक्ति स्यालहरू र अर्को सेटिङमात्र बाँकी रहेको बताए। ‘तपाईंलाई पराजित नगरीकन नहुने भएको छ। कमरेड ओलीलाई अहिले पनि लागेको छ, म विजय हुन्छु भन्ने। अब तपाईंसँग दुईवटा शक्ति मात्र बाँकी छन्। एउटा, साइबर सेना भनिने स्यालहरू बाँकी छन्। त्यसको नेतृत्व तपाईंले गरिरहनुभएको छ,अर्को सेटिङ,’ उनले भने।

‘तपाईंसँग सेटिङवाला पार्टी छ। यो कुरा जोड गरेर भन्दैछु दुनियाँ भन्छन्, सबैले भन्छन्। गलत गर्नुभयो। संसद पुनर्स्थापित हुनुपर्छ भनिरहेका छन्,’ उनले भने,’

नेता भुसालले यो अदालत २१ औं शताब्दीको अदालत भएकाले यहाँका न्यायाधीशहरू ओलीको सेटिङका पछाडि डराएर ओलीको पक्षमा निर्णय नगर्ने जिकिर गरे। उनले भने,’ ‘कमरेड, तपाईंलाई धेरै टुक्काहरू थाहा छ। एउटा थाहा रहेनछ। स्यालहरूले रजाइँ गर्ने कुरा दन्त्यकथामा मात्र हुन्छ। वास्तविक दुनियाँ स्यालले रजाइँ गर्दैन। सेटिङले काम गर्दैन। दिमागमा याद होस्।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome