आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

श्रीमतीको शव लुकाउन खोज्दा श्रीमानसहित दुई जना पक्राउ

१२ माघ, २०७७ १६:४२ मा प्रकाशित

755 पटक पढिएको

arrested illustration

काठमाडौं – श्रीमतीको शव लुकाउन खोज्दा बारा श्रीपुरका रवि चौधरी पक्राउ परेका छन्। कुटपिटबाट मृत्यु भएकी बबिता चौधरीको शव जलाउन नसकेपछि खाल्टो खनेर पुर्न खोज्दा सोमबार रवि पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त गौशालाले रवि र उनीसँगै गौशालाकी अनु थापालाई पक्राउ गरेको छ। वृत्तका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार गत शुक्रबार बबिताले अनुको मोबाइल चोरी गरेकी थिइन्। रवि र बबिता पशुपतिस्थित राममन्दिर नजिकैको सत्तलमा बस्दै आएका थिए।

चोरी भएको मोबाइल रंगेहात फेला पारेपछि अनुले केही साथीको सहयोगमा बबितालाई कुटपिट गरेकी थिइन्। कुटपिटबाट बबिताको आँखा र टाउकोमा गम्भीर चोट लागेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए। उनले भने,‘बबिताको कुटपिटबाट मृत्यु भएको देखिन्छ। घटना भएपछि बबिताका श्रीमान रविले प्रहरीमा खबर गर्नुको साटो ढाकछोप गरेर लुकाउन खोजेपछि पक्राउ गरेका हौं।’ रविले अनुकै सल्लाहमा सुरुमा बबिताको शव जलाउन खोजेका थिए। जलाउन सम्भव नभएपछि खाल्डो खनेर गाड्न लागेको आशंका प्रहरीले गरेको छ। प्रहरीले घटनास्थल नजिकै बबिताको शव लुकाउन खोजिएको खाल्डोसमेत फेलापरेको छ।

‘हाम्रो चासो रविले किन प्रहरीमा उजुरी गरेनन् भन्ने हो,‘ प्रहरी निरीक्षक ढुंगानाले भने,‘बबिताको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा पठाएका छौं । रवि र अनुमाथि थप अनुसन्धान भइरहेको छ।’ पन्ध्र महिना अघि रवि र बबिताबीच विवाह भएको थियो। रविलाई बबिताको माइतिघरसमेत थाहा छैन। राममन्दिरस्थित सत्तलमा बस्दै आएका उनीहरु ज्यामीको काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome