मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

ओलीले काठमाडौंमा पञ्चर्‍याली गर्न लागेको नेपालको आरोप

१३ माघ, २०७७ १७:३१ मा प्रकाशित

748 पटक पढिएको

madhav kumar nepal

फिदिम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली गुटले काठमाडौंमा पञ्चर्‍याली गर्ने तयारी गरिरहेको बताएका छन् । आफ्नो गुटको नेकपा पाँचथरले आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न फिदिम आएका नेपालले केपी गुटले काठमाडौंमा माघ २३ गते गर्न लागेको प्रदर्शनलाई पञ्चर्‍यालीको संज्ञा दिएका हुन् ।

‘पञ्चायतकालमा पञ्चेले राज्यको स्रोत दोहन गर्दै आफ्नो पक्षमा जनमास देखाउने प्रयत्न गर्थे,’ नेपालले भने, ‘ओली अहिले त्यही बाटोमा छन् । सरकारी ढुकुटिको दुरुपयोग गरेर २३ गते पञ्चर्‍याली गर्ने धाँक दिइरहेका छन् ।’ आफूहरुको विरोध प्रदर्शनमा जनताको बढ्दो सहभागिता देखेर आत्तिएका ओलीले पञ्चर्‍यालीको तयारी गरेको आरोप छ । तर, जनताले साथ नदिएपछि पञ्चर्‍यालीको कुनै अर्थ नहुने उनले बताए ।

फिदिमको सिटीहलमा सयौँको संख्यामा जम्मा भएका कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले आफू हिम्मत र आँट भएका इमान्दार कार्यकर्तालाई संगठित गर्न देश दौडाहामा निस्किएको बताए । ‘अब आँटिला कार्यकर्ताले आन्दोलनको ज्वारभाटा सिर्जना गर्नेछन्,’ नेपालले भने, ‘ओलीको प्रतिगामी कदमविरुद्ध देशभक्त नागरिकहरु आन्दोलित बनेका छन् । आन्दोलनबाटै प्रतिनिधिसभा पुनस्थापना हुनेछ ।’ देश संविधानबाट र पार्टी विधानबाट चल्ने कुरा उल्लेख गर्दै नेपालले केपी ओलीले संविधान र विधान कुच्चिएर अघि बढेकाले देश अस्थिरतातर्फ गएको उनको ठम्याई थियो ।

वामदेवलाई बालुवा पिसेर तल झार्ने चेष्ट नगर्न सुझाव

सम्बोधनको क्रममा नेपालले वामदेव गौतमको एकता अभियानलाई बालुवा पिसेर तेल निकाल्ने कुचेष्टाको संज्ञा दिएका छन् । ‘वामदेवजीले एकता अभियानको घोषणा गर्नुभएको छ,’ नेपालले भने यो अभियान अहिले असान्दर्भिक भइसक्यो । बालुवा पिसेर तेल झार्ने कुचेष्टा नगर्न म आग्रह गर्दछु ।,’ पूर्व एमाले र माओवादी एकता भएर नेकपाको निर्माण भएको उल्लेख गर्दै उनले पूर्वएमाले र माओवादीको नारा नलाउन आग्रह गरे ।

‘अब भूमिगत नामपनि त्याग्नुपर्छ,’ नेपालले भने ‘भूमिगत नामले विभाजनको मार्ग कोर्नसक्ने भएकाले नागरिकतामा भएको नामबाट सबै नेता कार्यकर्ताको पहिचान बनाउनुपर्छ ।’ पूर्व माओवादीका नेताप्रति लक्षित गर्दै नेपालले भूमिगत नाम त्याग्न आग्रह गरेका हुन् ।

चुनाब चिह्न र पार्टीको नामको प्रसंग उल्लेख गर्दै नेपालले जता नेकपा हुन्छ त्यतै सूर्य चिह्न हुने बताए । ‘हामीसँग केन्द्रीय समितिका बहुमत सदस्य हुनुहुन्छ,’ नेपालले भने, ‘अब सूर्य चिह्न र संस्थापन को हो भन्ने विषयमा अलमलिराख्नु आवश्यक छैन । हामी नै नेकपा हो । हामीले नै पाउछौँ सूर्य चिह्न ।’

सम्बोधनको अधिकांश समय केपी ओलीको आलोचनामा खर्चिएका नेपालले ओलीलाई भष्माशुरको संज्ञा दिए । ‘केपी ओली संघीयता, गणतन्त्र र संविधान समाप्त पार्ने भष्माशुर हुन्’ नेपालले भने, ‘उनले चुनाव पनि गराउँदैनन् र देशमा शान्ति स्थापना पनि गर्दैनन् ।’

कार्यक्रमलाई पूर्वगृहमन्त्री जनार्दन शर्मा, एक नम्बर प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र ओङ्बो लगायतले सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome