शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

सुर्य चिन्हबाट लड्न ओली नेतृत्वकै नेकपा आधिकारिक : उपप्रधानमन्त्री पोखरेल

१४ माघ, २०७७ ०९:३९ मा प्रकाशित

274 पटक पढिएको

minister ishwor pokharel

राजविराज – उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार बन्न र सुर्य चिन्हबाट चुनाव लडन केपी ओली नेतृत्वकै नेकपा आधिकारिक हुने बताएका छन्। राजविराज रंगशालामा मङ्गलबार आयोजित नेकपाको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले उम्मेदवारको टिकटमा नेकपाका प्रथम अध्यक्ष ओलीकै हस्ताक्षर चाहिने र आधिकारिकता ओली अध्यक्ष रहेको पार्टीले नै पाउने बताए।

निर्वाचन आयोगले समेत नेकपा फुटको विरुद्धमा निर्णय गरेको तथा प्रथम अध्यक्ष ओली, दोस्रो अध्यक्ष पुष्मकमल दाहाल र महासचिव बिष्णु पौडेललाई आधिकारिक मानेको भन्दै पोखरेलले चोकचौराहामा बनाएको अध्यक्षलाई नचिनेको बताए। सुर्य चिन्ह र नेकपा अरु कसैको नहुने दावी गर्दै उनले भने– ‘हामीहरु एकताबद्ध भएर हिंडन आह्वान गर्छौ, उहाँहरु (प्रचण्ड–नेपाल समूह) निष्काशन गर्दै हिडनु हुन्छ, हामि स्थिर सरकार चाहन्थ्यौ, उहाँहरु पालैपालो प्रधानमन्त्री बन्न चाहनु भयो, महाधिवेशन नहुञ्जेल सहमतिका साथ दुई अध्यक्ष भएर चल्न चाहन्थ्यौ, उहाँहरु बीचैमा ओलीलाई हटाएर अध्यक्ष बन्न चाहनु भयो।’

पार्टीका दोस्रो अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालकै कारण पार्टीमा अहिलेको अवस्था आएको उनको टिप्पणी रह्यो। पोखरेलले लगातार ३० वर्षसम्म पार्टी अध्यक्ष रहेका प्रचण्ड पुनः प्रधानमन्त्री बन्न स्थानीय तहको चुनावमा काँग्रेससँग मिलेर सुर्य चिन्ह च्यातेको र आफ्नो हैसियत बुझेपछि आफ्ना मानिसलाई मन्त्री बनाउन र राजनीतिक नियुक्ति दिलाउन सुर्य चिन्ह अंगाल्न तयार भएको बताए।

माधव नेपाल समेत १८ वर्षसम्म पार्टी प्रमुख र दुई पटक प्रधानमन्त्री बनेको भन्दै पोखरेलले महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओलीले महाधिवेशनपछि अध्यक्ष नहुने र पाँच वर्षपछि पुनः प्रधानमन्त्री नबन्ने प्रतिबद्धता गरे पनि सरकारलाई अस्थिर बनाउन बीचैमा अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिको भागवण्डा गरेर षडयन्त्र सुरु भएको बताए।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको भ्याक्सिन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने र सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताए।

नेकपाका स्थायी कमिटी सदस्य तथा सहरी विकास मन्त्री प्रभु साहले माओवादीको नाम, पहिचान, चुनाव चिन्ह, जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको एजेण्डा प्रचण्डले कुर्सीका लागि पालैपालो बिक्री गरिसकेको आरोप लगाए। सत्ता र शक्तिमा रहिरहन एक–एक गरेर सहयोद्धाहरु बिर्सने र घाइते जनमुक्ति सेनाको रकम भ्रष्टाचार गर्ने प्रचण्डलाई इमान्दार माओवादीहरुले छाडने दाबी गर्दै साहले जनमुक्ति सेना र माओवादीको एजेण्डा वर्तमान सरकारले पुरा गर्ने विश्वास दिलाए। प्रदेश २ मा बढेको भ्रष्टाचार र देशमा फैलाउन खोजिएको अस्थिरतालाई निस्तेज गर्न जनताले ओलीको नेतृत्वलाई विश्वास गरेको साहले बताए।

नेकपा सप्तरीका संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा भएको भेलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, पूर्व मन्त्री तथा नेताहरु सत्यनारायण मण्डल, रघुविर महासेठ, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले महाधिवेशन नहुञ्जेल दुई अध्यक्ष रहने आपसी सहमतिर र पाँच वर्ष सम्म ओलीकै नेतृत्वमा स्थिर सरकार बनाउने जनताकाबीच गरेको प्रतिबद्धता बिर्सेर बीचैमा परिवर्तन गर्ने प्रचण्ड र नेपालको दोहोरो प्रवृत्तिका कारण संसद विघटनको अवस्था आएको बताए।

वक्ताहरुले बालुवाटारमा एक खालको सहमति गर्ने तथा कुर्सी र पदका लागि खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर बहुमत जुटाउने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको बताए।

भेलामा राजपा नेपालका तत्कालिन केन्द्रीय उपाध्यक्ष रामनारायण यादव, मधेस राष्ट्रिय जनतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष अनिल सिंह, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय सदस्य उपेन्द्र यादव, मोर्चा (भगत सिंह) का केन्द्रीय सदस्य भवानी अरगडिया, राप्रपाका अशोक साह, नेबिसंघ केन्द्रीय सदस्य दिपक झा, जसपाका युवा नेताहरु मनिष झा, सागर यादव, सुरेश महतो, भुपेन्द्र रजकलगायत दुई हजार बढीले नेकपामा प्रवेश गरे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome