बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

६ महिनामा लक्ष्यभन्दा २ अर्ब ३२ करोड बढी राजस्व संकलन

१४ माघ, २०७७ ०९:४८ मा प्रकाशित

746 पटक पढिएको

nepalgunj customs office

नेपालगन्ज – बाँकेको नेपालगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको ६ महिनामै गत आर्थिक वर्षको कूल राजस्वको हाराहारीमै संकलन गरेको छ । गत वर्षको १२ महिनामा कूल ११ अर्ब ७७ करोड अर्थात लक्ष्यको ७६ प्रतिशत मात्रै राजश्व असुली भएको थियो ।

प्रमुख भन्सार जयबहादुर भण्डारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ५८ करोड ८६ लाख ३५ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ९ अर्ब ९० करोड ७६ लाख ५६ हजार असुली गरेको छ । जुन १३०.५५ राजस्व संकलन गरेको हो । जुन यो ६ महिनाको कूल लक्ष्यभन्दा दुई अर्ब ३१ करोड ९० लाख रुपैयाँ बढी राजश्व असुली हो ।

यो राजश्व असुली गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ४ अर्बले बढी हो । गत आर्थिक बर्षको पुस मसान्तमा ७ अर्ब ९८ करोड लक्ष्य रहेकोमा ५ अर्ब ९१ करोड असुली प्रगती गरेको थियो । चालु आर्थिक बर्षको पहिलो महिनामा १ सय ७७ प्रतिशत राजश्व असुली गरेको नेपालगन्ज भन्सारले यसबर्ष राजश्व असुली कम हुने पुस महिनामा समेत १ सय ३८ प्रतिशत राजश्व संकलन गरेको छ ।

कार्यालयको यो वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजश्व असुली गर्ने लक्ष्य छ । प्रमुख भण्डारी भन्छन्, ‘अबका ६ महिनामध्ये माघ, फागुन र चैत्र महिनामा राजस्व कम संकलन हुन्छ । वैशाख, जेठ र असारमा अलि बढी राजस्व संकलन हुन्छ । यो वर्षको राजस्व लक्ष्य सजिलै पूरा हुन्छ ।’ कोरोना महामारीका कारण सीमा नाका बन्द हुँदा चोरीपैठारी नियन्त्रण हुनु, प्रशासनिक दक्षता, जाँचपासमा सुधारलगायतका कारणले चालु आर्थिक वर्षको बार्षिक लक्ष्य सजिलै पुरा हुने अपेक्षा गरिएको उनले प्रष्ट पारे ।

छोटी भन्सार ब्यूताउन माग

सशस्त्र द्वन्द्वका क्रममा बाँकेका विभिन्न स्थानमा रहेका आधा दर्जनको हाराहारीमा छोटी भन्सार कार्यालय बन्द गरिएका थिए । जिल्लाका स्थानीय तहले विगतका छोटी भन्सार कार्यालय पुनस्र्थापना गर्न स्थानीय स्तरमा माग बढिरहेको भन्सार कार्यालयले जनाएको छ । ‘नरैनापुरमा छोटी भन्सार पुनस्र्थापना गर्न माग भएको छ । हामीले त्यस विषयमा छलफल सुरु गरेका छौं’, भन्सार प्रमुख भण्डारी भन्छन्, ‘लामो समय भएकाले सबै ठाउँमा छोटी भन्सारको पूर्वाधार जीर्ण अवस्थामा रहेका छन् । तिनलाई तत्काल सञ्चालन गर्नका लागि पर्याप्त जनशक्ति पनि छैनन् ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome