शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

वामदेवको विषयमा प्रकाशित समाचारप्रति सचिवालयको आपत्ति

१४ माघ, २०७७ ०९:४९ मा प्रकाशित

332 पटक पढिएको

politician bamdev gautam

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको विषयमा सार्वजनिक समाचारप्रति उनको सचिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको नेकपामा तटस्थ बसेका नेता गौतमले नबोलेको विषयमा समाचार बनेको भन्दै सचिवालयले आपत्ति जनाएको हो ।

‘राष्ट्रिय समाचार समितिको १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा १३ गते प्रकाशित समाचारमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखिएका छन्’, सचिवालयले सार्वजनिक गरेको प्रेस नोटमा भनिएको छ, ‘विगत केही समयदेखि वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन् । राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो ।’

विश्वमणि सुवेदीले सार्वजनिक गरेको विज्ञप्तिमा समाचारमा आएजस्तो कुरा गौतमले नबताएको उल्लेख गरिएको छ । सोमबार पत्रकारसँग भैंसेपाटीमा भेटवार्ता भएको तर समाचारमा उल्लेख भएजस्तो भनाइ व्यक्त नगरेको सुवेदीले उल्लेख गरेका छन् ।

‘सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैंसेपाटीस्थित हाम्रो सचिवालयमा आउनुभएको थियो । ती साथीहरु पत्रकारमात्र नभई पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो । उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन’, प्रेस विज्ञप्तिमा थप भनिएको छ ।

प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित भए पनि गौतम कुनै समूहमा सहभागी भएका छैनन् । एउटा समूहको नेतृत्व केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । गौतमले भने पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेर अगाडि बढ्ने तयारी गरेका छन् । सोही अनुसार बुधबार उनले राष्ट्रिय अभियानको घोषणा गर्दैछन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome