शनिबार, १५ फाल्गुन २०७७
शनिबार, १५ फाल्गुन २०७७

IT Training Nepal

विद्यालय व्यवस्थापन समितिको चुनावमा आफ्नो प्यानल हारेको झोकमा हत्या

१४ माघ, २०७७ १७:३५ मा प्रकाशित

382 पटक पढिएको

tension in bajhang

बझाङ – बझाङमा विद्यालय व्यवस्थापन समितिमा आफ्नो प्यानल हारेको झोकमा एकजनाको खुडा प्रहार गरी हत्या गरिएको छ। बझाङको छविस पाथिभेरा गाउँपालिका ३ का २३ वर्षीय अमृत सिंहको हत्या गरिएको हो । उनको घाँटीमा खुडा प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ।

मंगलबार जिल्लाको छविस पाथिभेरा गाउँपालिका ३ मा रहेको बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको चुनाव थियो । दिनभरी नेकपा र कांग्रेसका छुट्टाछुट्टै प्यानलबीच चुनाव भयो । बेलुकी मतगणना सकिएपछि कांग्रेस निकटको प्यानलले जितेको घोषणा भयो । त्यसको केही बेरपछि बेलुकी ७ बजेतिर सोही ठाउँका अमृत सिंहको हत्या भएको हो ।

विद्यालय व्यवस्थापन समितिमा नेपाली कांग्रेसबाट लोकेन्द्रबहादुर रोकायाको प्यानल र नेकपाबाट गजेन्द्र बहादुर धामीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । यस्तै शिक्षक अभिभावक संघका लागि कांग्रेसका सुरेश रोकाया र नेकपाका कल्याण बोहराबीच प्रतिस्पर्धा भएको थियो ।

चुनावपछि विद्यालय व्यवस्थापन समितिमा कांग्रेसका लोकेन्द्रबहादुर रोकायाको प्यानल र शिक्षक अभिभावक संघमा पनि कांग्रेसका सुरेश रोकायाले जितेका थिए । ‘कांग्रेसको प्यानल जितेको भन्दै चुनाव सकिएपछि खुडा प्रहार गरी हत्या गरिएको छ, ‘ मृतकका आफन्त सचिन सिहले भने ।

मृतक अमृत सिंहको घाँटीमा खुडा हानिएको र उनको घाँटी २ इन्च मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छविस पाथिभेरा गाउँपालिकाका २ का वडा अध्यक्ष विकास अयडी, उनका भाइ प्रकाश अयडी, सोही ठाउँका केदार कठायत र ज्ञानबहादुर कठायतलाई पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाइकलसहित वडाअध्यक्ष अयडीलाई सदरमुकाम चैनपुरको एक होटलबाट मंगलबार राती पक्राउ गरेको थियो भने ज्ञानबहादुर कठायत, मंगलबार नै घटनास्थलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

हत्या अभियोग लागेका अर्का अभियुक्त प्रकाश अयडी र केदार कठायतलाई बुधबार थलारा गाउँपालिका ३ को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

मृतकका आफन्तले अर्को वडाबाट आएका व्यक्तिहरुले हत्या गरेको आरोप लगाएका छन । ‘विद्यालय जस्तो पवित्र संस्थाको चुनावमा अर्को वडाबाट आएर प्रचार प्रसार र गुण्डागर्दी गरिएको थियो, मतगणनाका बेला पनि वडा अध्यक्ष विकास अयडीले विवाद गरेका थिए,’ मृतकका आफन्त सचिन सिँहले भने ।

घटनास्थलबाट वडाअध्यक्ष विकास अयडीको से १ प ७६१ नम्बरको सरकारी नम्बर प्लेटको गाडी बरामद भएकाले प्रहरीले उनलाई पनि पक्राउ गरिएको जनाएको छ । प्रहरीले हत्यामा वडा अध्यक्षका भाइ प्रकाश अयडी, सोही ठाउँका केदार कठायत र ज्ञानबहादुर कठायतको संलग्नता खुलेको जनाएको छ ।

मृतक अमृत सिंह नेपाल तरुण दल छविसपाथीभेरा गाउँपालिकाका सदस्य समेत हुन । उनको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ । बुधबार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ सहित काँग्रेसका भातृसंगठनहरुले चैनपुर बजारमा प्रदर्शन गरे ।

उनीहरुले टायर बाल्दै नाराबाजी गरेका छन भने चैनपुरको यातायात र बजार समेत बन्द गराएका छन् । पीडित परिवारले हत्याका आरोपीहरुलाई कडा कारवाहीको माग गर्दै प्रर्दशन गरेका हुन् । नेपाली कांग्रसका पूर्व पार्टीसभापति पृथ्वीबहादुर सिंहले राजनीतिक आवरणमा भएको हत्यामा, संलग्नलाई उम्काउन प्रयास हुने आशंका व्यक्त गरे । ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुनसक्छ, अपराधीलाई कडा कारवाही हुनुपर्छ,’ उनले भने ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome