शनिबार, १५ फाल्गुन २०७७
शनिबार, १५ फाल्गुन २०७७

IT Training Nepal

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको सुरुङ निर्माण सुरु

१४ माघ, २०७७ १७:५० मा प्रकाशित

212 पटक पढिएको

fukot hydro tunnel

कालिकोट – माथिल्लो कर्णाली पछिको कर्णालीको सबैभन्दा ठूलो जलविद्युत आयोजना फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने कार्य सुरु गरिएको छ । कर्णालीकै गौरवको आयोजनाका रुपमा मानिएको फुकोट कर्णाली हाइड्रोको तीव्र गतिमा निर्माण कार्य अगाडि बढाउन सुरुङ निर्माण थालिएको हो ।

सान्नीगाड साना जलविद्युत आयोजना वर्षायाममा आउने बाढी र पहिरोमा परेर बर्षेनि अवरुद्ध हुँदा अन्धकारमा बस्न बाध्य यहाँका नागरिकहरु फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माणको कार्य थालनि भएपछि खुसी भएका छन् ।

कोरोना महामारीका कारण निर्माण कार्यमा ढिलाइ भएको सो हाइड्रोको ८० मिटर सुरुङ खनि सकिएको आयोजना प्रमुख हिरावान वाइबाले जानकारी दिए । उनका अनुसार उक्त आयोजनाका लागि जम्मा ६ सय ४६ मिटर लामो सुरुङ खन्नुपर्ने छ ।

बिस्फोटक पदार्थको व्यवस्थापनमा समस्या हुने गरेकाले सुरुङ खन्ने काम सुस्त गतिमा छ । नेपाली सेनाले आवश्यकता अनुसार विस्फोटक पदार्थ नियमित व्यवस्थापन गरिदिँदा निर्माणको काम थप प्रभावकारी हुने उनले बताए ।

आयोजना प्रमुख वाइवाका अनुसार दुबैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । हालसम्म दुबै तर्फबाट ८० मिटर भन्दा बढी सुरुङ खनि सकिएको छ । उनले भने, ‘कोरोना भाइरस र केही चुनौतिहरु नआइदिएको भए यतिबेलासम्म सुरुङ खन्ने काम अन्तिम अवस्थामा पुग्थ्यो ।’

जग्गाको मुआव्जाको काम पनि यसकै कारणले रोकिएको उनले बताए । उनले थपे, ‘डीपीयार तयार भइसकेको छ । आयोजनाले क्षति हुने क्षेत्रको निर्धारण गरी मुआव्जाको रकम पास गरिसकेको छ । अब जिल्लाले जग्गाको विषयमा मुल्य निर्धारण गरेपछि मुआव्जाको काम पनि सकिने उनको भनाइ छ ।

सान्नीत्रिवेणी गाउँपालिकाको सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट ६ सय ४६ मिटर सुरुङमार्फत भाँतेगडामा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ ।आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरीएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको उक्त जलविद्युत आयोजना नामक कम्पनीले २०७४ फागुनदेखि डिपिआरअन्तर्गत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनको काम गरिरहेकोथियो । राष्टिय गौरबको आयोजना कर्णाली करिडोर निर्माण कार्यदेखि फुकोट कर्णाली हाइड्राले कर्णालीबासीलाई विकासको अनुभुती दिएको स्थानिय अगुवा दमनबहादुर शाहीले बताए ।

करीब चार सय८० मेगावट विद्युत उत्पादन हुने उक्त आयोजनाबाट त्यस वरिपरिको एक हजार रोपनी क्षेत्र प्रभावित हुने भएको छ। आयोजनाले जिल्लाका सान्नीत्रिवेणी गाँउपालिका, रास्कोट नगरपालिका र पचालझरना गाँउपालिकाको केही भागहरु डुवानमा पर्ने आयोजनाले जनाएको छ ।

आयोजनाको लागि आवश्यक कर्मचारी आवस गृह तथा कार्यलय भवन निर्माणका लागि सान्नीत्रिवेणी गाँउपालिका वडा नं. २ रकुमा स्थानियको १ सय ३० रोपनी जग्गा अधिग्रहण गरेर भौतिक संरचनाहरु निर्माणको काम थालिएको छ । आयोजनाको जलाशयबाट डुवान पर्ने जग्गा अधिग्रहणको प्रक्रिया समेत सुरु गरिएको छ । यो आयोजनाका लागि आवश्यक बजेट जुटेपछि पाँच बर्षभित्र निर्माणको काम पुरा हुनेछ ।
आयोजनाका लागि आवश्यक एक खर्ब बजेटमा ३० अरब बजेट नेपाल सरकार, कर्मचारी संचय कोषबाट प्राप्त हुनेछ भने बाँकी ७० अरब बजेट अन्य दातृनिकायबाट लिनुपर्नेछ । कर्णालीको आर्थिक विकासको आधारका रुपमा हेरिएको उक्त आयोजनालाई तिब्र गतिमा निर्माण गर्न‘ पर्ने यहाँका नागरिकहरुको माग छ ।

नेपाल सरकारको नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी भन्ने मुल नाराका साथ उज्यालो नेपाल अभियानमार्फत राज्यलाई आत्मनिर्भर, समुन्नत र समृद्ध बनाउने लक्ष्य सहित २०७३ सालमा विद्युत उत्पादन कम्पनी लिमिटेडको स्थापना गरेको थियो । जसमा नेपाल सरकार, विभिन्न संघ संस्था र सर्बसाधारण नागरिकहरुको पनि लगानी गरेको छ ।

जुन कम्पनी अन्तरगत नेपालका ६ वटा विद्युत आयोजनाहरु रहेको छन् । जसमा फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना एक हो । यो आयोजना सरकारको प्राथमिक्तामा परेको आयोजना हो । फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाले राष्ट्रको ढुकुटीमा वृद्धि गर्नुका साथै कालिकोट र कर्णालीवासीको आर्थिक समृद्धि हुने अपेक्षा गरिएको छ । औधोगिक विकासका लागि पहिलो आवश्यकता उर्जा हुने बताउँदै विकल्प नपाउँदा कालापहाड जाने यहाँका युवाहरुका लागि गाउँमै अवसरको मुहान फुट्ने बताइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome