१४ माघ, २०७७ १७:५३ मा प्रकाशित
723 पटक पढिएको
उदयपुर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आरोपपत्र फिर्ता गरेर निर्वाचन स्वीकार गरे एकता हुनसक्ने बताएका छन् । नेकपा ओली पक्षले बुधबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र कटारीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न सदरमुकाम गाईघाट आइपुगेका नेता पोखरेलले पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन् ।
‘कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपपत्र फिर्ता हुनुपर्यो र निर्वाचनलाई सहर्ष स्वीकार गर्नुपर्यो त्यति भए एकता हुनसक्छ, उनले भने।’
उपप्रधानमन्त्री पोखरेलले प्रचण्डले बैठकमा पेस गरेको अनैतिक, अलोकतान्त्रिक, संबिधानविरोध आरोपपत्र नै पार्टी विभाजनको मुख्य आधार बनेको स्पष्ट पारे । पार्टी एकताका बेला भु्रणमा भएका समस्या निराकरण गर्न नसक्दा पनि पार्टी विभाजनको कारक भएको उनले बताए ।
उनले पार्टीका आफुनिकटका सांसदलाई विशेषअधिवेशनको माग गर्न लगाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखी निकाल्ने प्रचण्ड- माधव नेपाल समूहको योजना थाहा भएरै संसद विगठन गर्नु परेको आरोप लगाए ।
उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई गलहत्याएर निकाल्ने र आफू त्यो कुर्सीमा पुग्ने दाउ थियो त्यो असफल भयो । कोरोना भाइरस महामारीको बेला सरकारले उपलब्धिमुलक काम गरेको अवस्थामा समेत पार्टीबाट असहयोग भएको आरोप लगाए ।’
ओली नेतृत्वको सरकार आए यता जनजीविकाको सवालमा, विकास निर्माणमा थुप्रै उपलब्धि हाँसिल गरेपनि प्रचण्ड र नेपाल समूहले सरकारले केही गरेन भन्दै प्रचारबाजी गरेर असफल पार्न खोजेको आरोप लगाए।