१४ माघ, २०७७ १८:३६ मा प्रकाशित
513 पटक पढिएको
काठमाडौं – प्रहरिले राजधानीमा लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ्ग जिल्ला जय पृथ्वी नगरपालिका १ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने वर्ष २१ को सुनिल बहादुर सिंह र सिन्धुपाल्चोक जिल्ला साँगा चोक गढी नगरपालिका २ चौतारा घर भई काठमाडौं कोटेश्वर बस्ने वर्ष ३४ को कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।
पक्राउ पर्ने दुबैजना काठमाडौंको दरवारमार्गस्थित दोहोरी साँझमा काम गर्दै आइरहेको महानगरिय प्रहरी परिसरका प्रवक्ता रमेश कुमार वस्नेतले जानकारी गराएका छन् ।
गत माघ १० गते राती १ बजेको समयमा काठमाडौं जिल्ला स्युचाटारमा प्रबिन कुमार भण्डारी शंकास्पद अवस्थामा फेला परेकोमा प्रहरिले सोधपुछ गर्दा सिंह र श्रेष्ठले मदिराले लठ्ठिएका भण्डारीलाई दोहोरी रेष्टुरेन्ट्बाट घर पुर्याउन जाँदा लुटपाट गरेको तथ्य बाहिर आएको थियो ।
अभियुक्तहरुले भण्डारीको साथमा रहेको सुनको गणेशको लकेट सहितको सवा ३ तोलाको सिक्री, २ तोलाको सुनको बेरुवा औँठी २ थान र हात्तीको पुच्छरको रौँ भएको सुनको १ तोला को ब्रासलेट १ थानसहित आइफोन १ थान लुटेर फरार भएका थिए । प्रहरिले लुटिएको सामानसहित लुटपाटमा प्रयोग भएको एउटा मारुती कार पनि बरामद गरेको छ ।
खोजी गर्दै जाने क्रममा प्रहरिले लुटिएको गहनासहित दुबैजनालाई राजधानीबाट पक्राउ गरि सार्वजनिक गरेको छ । दुबैजना माथी चोरी अपराध अन्तर्गत मुद्दामा अदालतबाट म्याद लिइ अनुसन्धान भईरहेको प्रवक्ता बस्नेतले जानकारी गराएका छन् ।