सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

चिसोले जनजीवन कष्टकर बन्दै

१८ माघ, २०७७ १८:०३ मा प्रकाशित

352 पटक पढिएको

cold wave in terai

काठमाडौं – मध्य तथा पहाडी जिल्लाहरुमा भईरहेको हिमपातका कारण चिसो बढ्दा बर्दिया लगायत आसपासका स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण बालबालिका, बृद्धबृद्धा, महिला लगायत पशुचौपायाहरु प्रभावित बनेका छन्।

बर्दियामा केही दिनदेखि बाक्लो हुस्सुका कारण घाम देखिएको छैन। घाम नलागेपछि चिसो ह्वात्तै बढेको छ। चिसोले गर्दा स्थानीयको दैनिकी कष्टकर बनेको छ। अत्यावस्यक काम बाहेक मानिसहरु घरबाटबाहिर निस्किन सकेका छैनन्। चिसोले गर्दा काममा जान सकेको छैन दाउरा बेचेर जिविकोपार्जन गर्दै आइरहेका गुलरिया नगरपालिका वडा नम्वर ७ का सद्धिक नाउँले बताए। उनले भने, ‘दाउरा नबेचे साँझ बिहानको चुलो बल्दैन। जाँडोले धेरै समस्या पारेको छ। घरमा ओड्ने कम्बल पनि छैनन्। आगो बालेर दिनरात बिताउनु पर्ने अवस्था छ।’

अस्पतालमा समेत चिसोका बिरामीहरु आउन थालेका छन्। कोभिडका कारण मास्कको प्रयोग र घरबाहिर ननिस्कने बानीले विगतमा जस्तो दम, निमोनिया, पखालाका बिरामीहरुमा कमी आएको बर्दिया अस्पताल गुलरियाका प्रमुख सुभाष पाण्डेयले बताए। उनले भने, ‘चिसो एकदमै बढेको छ। यस्तो अवस्थामा एकदमै सजग हुनुपर्छ। चिसोबाट जोगिन तातो झोलिलो पेय पदार्थ पिउने। अत्यावस्यक काम बाहेक घरबाट बाहिर ननिस्कने। बृद्धबृद्धा, महिला तथा बालबालिकालाई न्यानोमा राख्न आवश्यक छ।’

बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरापालिका र गेरुवा, बढैयाताल गाउँपालिकाका स्थनीयहरु जाडोका कारण कष्टकर अवस्थासँग जुध्न बाध्य छन्। छिमेकी बाँके, कैलाली, कञ्चनपुर लगायतका तराईका जिल्लाहरुमा समेत बाक्लो हुस्सु सहित तुषारापात भईरहेको छ। मौसम पूर्वानुमान महाशाखाले केही दिन वर्षा नहुने जनाएको छ। हिउँदे वर्षा भैसकेपछि बादल फाट्ने र जाडो जानेमा स्थानीयहरु आशावादी छन्।

अत्यधिक जाडोका कारण बाक्लो कपडाको ब्यापार बढेको छ। जाडोले गर्दा बाक्लो कपडा किन्ने मानिसहरु दिनहुँ बढेको गुलरिया स्थित निशा जनरल स्टोरका प्रोपराइटर कृष्णप्रसाद मैनालीले बताए। जाडोमा हाइनेक, स्विटर, ज्याकेट, टाउजर, सल, टोपी लगायतका उनजन्य कपडाहरु बढी खपत हुने गरेको छ। आरम्भमा जाडो नभए पनि सकिने बेलामा एक्कासी जाडो बढेपछि ग्राहकहरुले आफ्ना सुरक्षाका लागि कपडाहरु खरिद गर्ने क्रम बढेको मैनालीले बताए।

नेपालगन्जमा ३ वर्ष यताकै सर्वाधिक चिसो

यसैगरी नेपालगन्जमा तीन वर्ष यताकै सर्वाधिक जाडो भएको छ । जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार तीन वर्ष यताकै सबैभन्दा कम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । सन् २०१९ को ३१ डिसेम्बरमा ३.५ डिग्री सेल्सियस, २०२० को ३१ डिसेम्बरमा ४.१ डिग्री सेल्सियस रहेको थियो । यो वर्ष १ जनवरी (१७ पुस)मा न्यूनतम् तापक्रम ३ डिग्री सेल्सियस र १६ माघमा ३.३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जुन अघिल्ला दुई वर्षभन्दा कम हो । आइतबार भने नेपालको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस पुगेको छ । बिहानैदेखि नेपालगन्जमा घाम लागेको छैन ।

त्यसो त, यो वर्ष ८ दिन घाम लागेन । हावापानी कार्यालयका अनुसार जनवरी महिनामा ७ दिन (१, ११, १३, १६, २०, २१ र २५ तारिख) र आइतबार दिनभर घाम लागेन । बाक्लो हुस्सु कुहिरोका कारण यो वर्ष विमानसेवा प्रभावित भएका छन् । आइतबार पनि बिहानका सबै उडान रद्द गरिएका थिए ।

विद्यालय बन्द

नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक जाडो बढेको भन्दै विद्यालयमा कम्तीमा ३ दिन जाडो विदा दिन विद्यालयहरुलाई परिपत्र गरेको छ ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले आइतबार विद्यालयलाई परिपत्र मार्फत १९ माघदेखि २१ माघसम्म ३ दिन विद्यालय विदा गर्न र मौसम प्रतिकूल रहेमा २३ माघसम्म विद्यालय विदा मिलाउन विद्यालयलाई आग्रह गरे छन् । उपमहानगरपालिकाले सामुदायिक, संस्थागत र धार्मिक सबै विद्यालयमा जाडो विदा दिन भनेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome