शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

विराटनगरमा दुई गाडी तोडफोड, ६ जना पक्राउ

२२ माघ, २०७७ १८:१५ मा प्रकाशित

472 पटक पढिएको

strike in biratnagar

विराटनगर – प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालका क्रममा विराटनगरमा दुईवटा गाडीमा तोडफोड गरिएको छ। सडकमा अराजक शैली प्रस्तुत गरिरहेका दाहाल–नेपाल समूहका कार्यकर्ताले एउटा सरकारी र अर्को भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका हुन्। प्रहरीका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८ नम्बरको गाडी विराटनगर महानगरपालिका–२ तीनपैनी चोकमा तोडफोड गरिएको छ।

बन्दका बेला सरकारी गाडी चलाएकोभन्दै बन्दकर्ताले लाट्ठीले प्रहार गर्दा गाडीको पछाडिको सिसा फुटेको छ। सडकमा गुडिरहेको गाडीलाई एक्कासि रोकेर आक्रमण गरिएको प्रहरीले जनाएको छ। तोडफोडपछि गाडीलाई प्रहरीले सुरक्षा दिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तोडफोडमा संलग्न छ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा दाहाल–नेपाल समूहका जिल्ला संघर्ष समितिका सह–संयोजक पारुल क्षेत्री, महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुका सह–इन्चार्ज उमेश ढुंगाना रहेका छन्। त्यस्तै तोडफोडामा संलग्न दाहाल–नेपाल समूहका कार्यकर्ता सारदा मैनाली, मीरा दाहाल, संगम चौधरी र चम्पा कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुमाथि अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए।

बन्दकर्ताले विराटनगर–१० रोडशेष चोकमा पनि एउटा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडी तोडफोड गरिदिएका छन्। तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको छ। तोडफोड हुन थालेपछि गाडी त्यहाँबाट चालकले भगाएका कारण नम्बर भने नखुलेको डीएसपी राईले बताए। प्रहरी पुगेपछि तोडफोडमा संलग्नहरु फरार बनेको र उनीहरुको खोजी भइरहेको जानकारी राईले दिए।

यसैबीच विराटनगरमा बन्दकर्ताहरुले चिकित्सक चढेको सवारी साधन, नेपाल टेलिकम र विद्युत प्राधिकरणका गाडी पनि चल्न दिएका छैनन्। स्वास्थ्य संस्थाका सवारी साधनलाई पनि ठाउँठाउँमा रोकेर तोडफोडको प्रयास गरिएको छ। अति आवश्यकीय सवारी साधन पनि चल्न नदिएपछि दाहाल–नेपाल समूहको आलोचना भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome