बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

नरभक्षी आन्दोलनका दिन गए : प्रधानमन्त्री ओली

२३ माघ, २०७७ १७:१४ मा प्रकाशित

564 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले शुक्रबार राजधानीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो बताए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अब मांसाहारी आन्दोलनले मात्र नहुने बताएकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘मांसाहारी आन्दोललने हुँदेन भनेर उहाँले भनेको के हो ? के चिकेन चिल्ली खान खोजेको हो ?’, प्रश्न गर्दै ओलीले भने, ‘नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन । नेपाल शान्तिपूर्ण छ । नेपाल अशान्तिको भुमरीमा जान सक्दैन ।’

बन्दको नाममा गरिब जनताको सम्पत्तिमा नोक्सान भए सरकारले हेर्ने ओलीले बताए । बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्ताललाई ओलीले कथित नेपाल बन्दको संज्ञा दिएका हुन् । ‘गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ’, ओलीले भने, ‘इन्सुरेन्सलाई क्षतिपूर्ति दिन लगाउँछौँ भएन भने गरिबलाई हेर्ने सरकार छ । गरिबलाई माया गर्ने सरकार छ ।’

इतिहासकै ठूलो सभामा भएको दाबी

प्रधानमन्त्री ओलीले दरबारमार्गमा भएको सभालाई इतिहासकै ठूलो भएको दाबी गरे । ओलीले सभामा आउन नदिने प्रचण्ड–नेपाल समूहले कथित नेपाल बन्द गरेर तर्साए पनि सभास्थलमा मान्छे नअटाएको बताए ।

‘सभामा उपस्थित हुन नदिन बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न कसैले सकेनन्’, ओलीले भने । इतिहासकै ठूलो सभा भएकाले उनले दायाँ सञ्चयकोष, बायाँ जयनेपाल हल, घण्टाघरसम्म पनि मासिन अटाउन नसकेको दाबी गरे ।

सभालाई सम्बोधन गर्दै ओलीले देश सुरुङ मार्गमा प्रवेश गरेको दाबी गरेका छन् । उनले थानकोटबाट नौबिसेसम्मको सुरुङ निर्माणको काम थालिएको बताए । ओलीले यो काम छिट्टै सकिने दाबी गरे ।

‘हामीले नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं’, ओलीले भने, ‘थानकोटबाट नौबिसे सुरुङ खन्ने काम सुरु भएको छ, त्यो यहाँहरुले देख्नुभएको छ ।’

आफू नेतृत्वको सरकारले विकास निर्माणका धेरै काम गरेको दाबीसमेत ओलीले गरेका छन् । उनले तीन वर्षमा ६ हजार किलोमिटर सडक कालोपत्रे भएको बताए ।

ओलीले अहिले सडकमा सडक बालक नभएको दाबीसमेत गरे । उनले सरकारले तुइन विस्थापित गरेको, जलविद्युत आयोजना निर्माण गरेर सवस्टेसनको निर्माण सकेर उद्घाटन भएको बताए ।

सरकारका कामको विवरण सुनाएका ओलीले केही दिनमै रेल चल्ने बताए । उनले भारतसँग रक्सौलकाठमाडौं रेलमार्गको लागि सम्झौता भएर डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनले पूर्वपश्चिम रेलमार्ग बनाउने र चौडा सडक बनाउने काम भइरहेको उल्लेख गरे ।

संघीय लोकततान्त्रिक गणतन्त्र तलमाथि हुँदैन

ओलीले सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र तलमाथि नहुने बताए । उनले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ भन्ने हल्ला गर्नेको पछाडि नलाग्न आग्रह गरे । यो भनाइप्रति उनले आश्चर्य व्यक्त गरे ।

‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो’, ओलीले भने, ‘त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे !’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome