२५ माघ, २०७७ १६:५५ मा प्रकाशित
591 पटक पढिएको
भंगहा – महोत्तरीको भंगहामा सम्पन्न मेयर गोल्ड कप २०७७ को उपाधि त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौंले जितेको छ। एपीएफ फूटबल क्लब काठमाडौंलाई १–२ गोलले हराउँदै आर्मीले नगद पाँच लाख जितेको हो।
खेलको १८ मिनेटमा ३० नम्बर जर्सीका खेलाडी विमल पाण्डेले एपीएफमाथि पहिलो गोल प्रहार गरेका थिए। दबाबमा आएका एपीएफका १८ नम्बर जर्सीका खेलाडी रवी थिङ्गले खेलको ५३ मिनेटमा आर्मीमाथि गोल प्रहार गर्दै खेल बराबरीको ल्याएका थिए। त्यसपछि खेलमा जित हाँसिल गर्न दुवै टिमका खेलाडीले कडा प्रतिस्पर्धा गरेका थिए।
खेलको ६७ मिनेटमा आर्मीको तर्फबाट खेलाडी पाण्डेले नै एपीफमाथि दोस्रो गोल प्रहार गर्दै उनले आफ्नो टिमलाई जिताएका थिए। भंगहा नगरपालिकाले आयोजना गरेको मेयर गोल्ड कप २०७७ मा दुई २ लाख लिदैं आर्मी फूटबल क्लबसंग एपीएफले चित बुझायो। खेलको म्यान अफ दी म्याच आर्मीका खेलाडी पाण्डे भए। उनले नै विपक्षीमाथि २ गोल प्रहार गरेका थिए। उनले पाँच हजार नगद र शिल्ड पाए।
फाइनल खेलको उत्कृष्ट खेलाडी एपीएफका १८ नम्बर जर्सीका खेलाडी रवी थिङ्ग घोषित भए। उनले नगद ११ हजार र शिल्ड पाए। पूर्व रक्षामन्त्री शरतसिंह भण्डारीले खेलका विजेता र उपविजेतालाई नगद राशीको चेक,शिल्ड, प्रशंसा पत्र प्रदान गरे।