बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

मोरङमा १७ वर्षीया किशोरीमाथि बलात्कार : अनुसन्धानमा प्रहरीको असहयोग

२६ माघ, २०७७ १८:०६ मा प्रकाशित

274 पटक पढिएको

rape graphic

विराटनगर – मोरङको कानेपोखरी गाउँपालिकामा चार दिनअघि भएको एउटा बलात्कारको घटना अनुसन्धानमा प्रहरीले सहयोग नगरेको गुनासो पीडितका आफन्तले गरेका छन् ।

घटना अनुसन्धानमा आलटाल गरिरहेको प्रहरीले पीडितलाई न्याय दिनेभन्दा पनि थप हतोत्साही बनाउने काम गर्दै घटनालाई तोडमोड गरिरहेको आरोप परिवारका सदस्यको छ । घटना गत बिहीबार रातिको हो । नसालु पदार्थ खुवाएर कानेपोखरी गाउँपालिका–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई उन्मुक्ती दिने हिसाबको काम गरिरहेको स्थानीय बासिन्दाले बताए ।

सुरुमा घटनामा संलग्नलाई पक्राउ गर्न नै चासो नदिएको उनीहरुको भनाइ छ । प्रहरी अधिकारीले पनि यस घटनालाई लुकाउने प्रयास गरेका छन् । अहिलेसम्म प्रहरीले यो घटना सार्वजनिक गरेको छैन ।

चौधरीले दुई साताअघि चिनजान भएकी किशोरीलाई सल्लाह गर्नु छ भन्दै ललाईफकाई आफ्नै घरमा बोलाएर रातभर राखेर बलात्कार गरेको खुलेको प्रहरी स्रोतले बतायो । चौधरी कानेपोखरीमा किराना पसल सञ्चालन गरेर बस्छन् । ‘दुई साताअघि चिनजान भएको आधारमा किशोरीलाई विभिन्न बहाना बनाई आफ्नै घरमा बोलाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘मदिरासँग मिसाउँदै नसालु पदार्थ खुवाएर लट्याएपछि रातभर घरमा राखेर बलात्कार गरेको पाइएको छ ।’

घटनाको अनुसन्धान गरिरहेका एक प्रहरीका अनुसार भोलिपल्ट आर्थत शुक्रबार बिहान केही होसमा आएपछि किशोरीलाई चौधरीले घर पठाएका थिए । तर युवती चौधरीकै घरनजिक बाटोमा बेहोस बनेर लडिरहेको अवस्थामा भेटिएकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले उद्धार गर्दै उपचारका लागि लगेपछि बलात्कारको घटना बाहिरिएको हो ।

बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनलाई शुक्रबार बेलुका कोसीमा भर्ना गरिएको हो । उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लट्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बलात्कारका कारण लागेको चोटसँगै किशोरीको योनीबाट अत्याधिक रक्तश्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएको प्रहरी स्रोतको भनाइ छ ।

गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । ‘सुरुमा किशोरीको अवस्था निक्कै गम्भीर थियो,’ उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बलात्कारका कारण योनीमा चोट लाग्नुका साथै धेरै रक्तश्राव पनि भएको थियो ।’ तर सुरुमा अत्याधिक रक्तश्राव भइरहेका बेला ल्याइएकी किशोरीको स्वास्थ्य अवस्था अहिले भने सामान्य बन्दै गइरहेको उनको भनाइ छ ।

बलात्कारमा संलग्नलाई कारबाहीको माग राखेर पीडितका आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका छन् । प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेर आइतबार उनलाई पनि स्वास्थ्य परीक्षणका लागि कोसी अस्पताल ल्याएको थियो । जाहेरी दिँदा पनि प्रहरीले बलात्कारमा संलग्नलाई संरक्षण गर्दै पक्राउ गर्न आलटाल गरेको र अहिले पक्राउ गरेपछि पनि घटनालाई अन्यत्रै मोड्ने प्रयास गरेको गुनासो आफन्तको छ । प्रहरीले सुरुमै जाहेरी लिन अस्वीकार गरेको एक आफन्तले बताए ।

आफन्तका अनुसार प्रहरीले दुवै जनाको सहमतिमा यौन सम्पर्क भएकाले घटनालाई बलात्कार भन्न नमिल्ने बताएर अन्यत्र मोड्ने प्रयास गरिरहेको गुनासो आफन्तको छ । कानुनले नै उमेर नपुगिकन सहमतिमै भएको यौन सम्पर्कलाई बलात्कार मानेको छ । प्रहरीले घटनालाई लिएर पीडित पक्षलाई मिल्न दबाबसमेत दिने गरेको स्थानीयले बताए ।

‘सुरुमा जाहेरी दिँदा प्रहरीले सहमतिमा यौन सम्पर्क भएकोभन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । तर सबैतिरबाट दबाब परेपछि जाहेरी दर्ता गरेर घटनामा संलग्नलाई पक्राउसम्म गरेको छ,’ एक आफन्तले भने, ‘नसामा लट्ठ बनाएर बलात्कार गरिएको छ । घटना भएकै बिहान बेहोस बनेर बाटोमा लडिरहेको अवस्थामा पीडितलाई फेला पारिएको थियो ।’ उपचारमा संलग्न चिकित्सकले पनि बलत्कार भएको भनिरहँदा प्रहरी घटनालाई सामान्य रुपमा लिएर पीडकको संरक्षणमा लागेको उनको आरोप छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक अनिल पौडेलको कुराले पनि प्रहरीले घटनालाई सामान्य रुपमा लिएको पुष्टि हुन्छ । उनले घटनाको प्रकृति र पीडकको विवरणसमेत खुलाउन मानेनन् । ‘यस्ता घटना धेरै भएका छन् । यो सामान्य घटना हो,’ उनले भने, ‘अहिलेसम्म पीडितले केही नभनेका कारण बलात्कार हो भनेर भन्नसक्ने अवस्था छैन । पीडित भनिएकी युवती केटाको घरमा आफै गएको पाइएकाले घटनालाई यकिन गर्न सकिरहेको छैन ।’

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्काले बलात्कार भएको भनेर किटानी जाहेरी परेपछि घटनामा संलग्न भनिएका युवालाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको बताए । उनले घटनामा संलग्न भनिएका चौधरीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान थालिएको बताए । अनुसन्धानपछि घटनाको सबै वास्तविकता बाहिर आउने भएकाले अहिल्यै सबै कुरा खुलाउनसक्ने अवस्था नभएको खड्काको भनाइ छ । तर घटनामा संलग्नलाई संरक्षण गर्न र घटनालाई तोडमोड गर्न कुनै पनि हालतमा प्रहरी नलागेको उनले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome