मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

आगामी चुनावमा ओलीको जमानत जफत हुन्छ : खनाल

२८ माघ, २०७७ १६:२३ मा प्रकाशित

609 पटक पढिएको

ncp uml politician jhalanath khanal

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने बताएका छन्। बुधबार राजधानीमा आयोजित नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको विशाल विरोधसभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले एउटा भँगेराको कथा सुनाउँदै ओलीका खुट्टीबारे आफूलाई थाहा भएको बताउँदै आगामी चुनावमा उनको जमानत जफत हुने बताएका हुन्।
‘मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्यायौँ। आगामी चुनावमा दुई तिहाई होइन, तपाईंको जमानत जफत हुनेछ’, नेता खनालले भने, ‘अब दुई वर्षपछि यो देशमा चुनाव हुनेछ। त्यत्तिबेला तपाईंको जमानत जफत हुँदैछ।’

नेता खनालले नेकपाको यो आन्दोलन प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनका लागि नभएर केपी ओलीले ध्वस्त बनाएको संविधानको रक्षाका लागि अगाडि बढाएको बताए।

‘हामीहरु कमरेड प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन एउटा कुर्सीका लागि लडिराखेका छैनौँ’, खनालले भने, ‘केपी ओलीले ध्वस्त गरेको संविधानको रक्षाका निम्ति लडिराखेका छौँ।’

केपी ओली पतन भएको र पशुपतिनाथमा गएर क्षमापूजा गर्ने अवस्थामा पुगेको टिप्पणी खनालले गरेका छन्।

नेता खनालले संसद पुनस्र्थापनाका लागि हुन लागेको संयुक्त आन्दोलनमा सहभागी हुन सबैलाई आह्वानसमेत गरेका छन्। ‘संयुक्त आन्दोलनबाट संसद पुनस्र्थापनाको विकल्प छैन’, उनले भने, ‘संविधानको रक्षा गरौँ र समाजवादतर्फ अगाडि बढौँ।’

‘वीरेन्द्रको वंश र ज्ञानेन्द्रको गद्दी जोगाउन नसक्ने पशुपतिले ओलीलाई जोगाउन सक्दैनन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता रघुजी पन्तले राजा वीरेन्द्रको वंश र राजा ज्ञानेन्द्रको गद्दी जोगाउन नसक्ने पशुपतिनाथले केपी ओलीलाई जोगाउन नसक्ने बताएका छन्।

बधुबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको विरोधसभालाई सम्बोधन गर्दै पन्तले यस्तो बताएका हुन् । उनले प्रतिनिधिसभा विघटनपछि पशुपतिनाथको दर्शन गर्न गएकोप्रति व्यङ्ग्य गर्दै नेता पन्तले यस्तो बताएका हुन् ।

पन्तले सधै सम्बोधन गर्दा सम्बोधनको अन्तिममा पशुपतिनाथले सबैको कल्याण गरुन भन्ने वीरेन्द्र र ज्ञानेन्द्रलाई जोगाउन नसकेको पशुपतिनाथले ओलीलाईसमेत नजोगाउने दाबी गरेका हुन् ।

‘प्रधानमन्त्री केपी ओली धेरैपछि पशुपतिनाथ जानुभयो । रुद्राक्षको माला लगाएर निस्कनुभयो । त्यहाँ गएर के बरदान माग्नु भयो थाहा छैन । एक अर्ब लाग्ने पशुपतिको जलारी राख्न २० करोड निकास अहिले नै गर्ने बताउनुभयो’, पन्तले राजाहरुलाई सम्झदै भने, ‘मलाई राजा वीरेन्द्रको सम्झना भयो । बोल्दा अन्तिममा उनी सधै पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्थे । सधैँ पशुपतिनाथले गुहार्ने राजा वीरेन्द्रको वंश नाश भयो । पशुपतिले कल्याण गरेनन् । राजा ज्ञानेन्द्रले सम्बोधनमा अन्तिममा पशुपतिनाथले कल्याण गरुन भन्थे । पशुपतिनाथले राम्रै कल्याण गरे नारायणहिटीबाट नागार्जुन पुर्यायो ।’

नेता पन्तले नबोल्ने पशुपतिनाथको मूर्तीलाई भन्दा जनतालाई खुसी पार्न सुझाव दिएका हुन् । उनले जनता बोल्ने पशुपति भएकाले तिनलाई खुसी पार्न सुझाएका हुन् ।

‘पशुपतिले कृपा गर्ने भए वीरेन्द्रको वंश नाश हुने थिएन । सधैँ पशुपति गुहार्ने ज्ञानेन्द्रले गद्दी छोडेर जानु पर्ने थिएन’, उनले भने, ‘ओलीजी सुन्नुहोस् । त्यहा नबोल्ने पशुपतिनाथको मूर्ती होइन यहाँ बोल्ने पशुपतिनाथहरुलाई खुसी बनाउनुहोस् । जो यहाँ उपस्थित छन् ।’

प्रधानमन्त्री ओलीले पदसँग संविधान र संघीयता साटे : जनार्द्धन शर्मा

प्रचण्ड-नेपाल समूह नेकपाको स्थायी समिति सदस्य जनार्द्धन शर्मा ‘प्रभाकर’ले प्रधानमन्त्री केपी ओलीले पदसँग संविधान र संघीयता साटेको आरोप लगाएका छन्। बुधबार राजधानीमा संसद विघटनविरुद्धको शक्तिप्रदर्शनपछि विरोधसभामा सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन्।

‘सात दशक लामो संघर्षबाट ल्याएको संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साट्नुभयो। हाम्रो संघीयतालाई उहाँले पदसँग साटनुभयो,’ उनले भने,’ संविधान पदसँग साटिन सक्छ ? कि संघीयता कुनै सनकमा खारेज हुनसक्छ ?

उनले संघीयता सनकमा खारेज गर्न नपाइने भन्दै केपी ओलीको हर्कतका विरुद्ध आन्दोलनम उत्रिनु परेको बताए। नेता शर्माले कानुन बनाउने क्रममा जनताको अधिकार भाँचभुच गरिएको समेत आरोप लगाए। उनले भने,’ कानुन बनाउने क्रममा जनताको अधिकार भाँचभुच गरिएको छ। संघीयता लागू गर्न नदिनका लागि अपांग बनाइएको छ। जनताका संकट समाधानका सट्टा ओम्नीहरुलाई अगाडि बढाएर ओम्नीका नाममा जनताको जीवनमाथि खेलबाड गरिएको छ।’

उनले अब जनताको विरोधले नै संघीयता विरोधी, गणतन्त्र विरोधी र जनअधिकार विरोधीलाई समाप्त पार्ने जिकिर गरे। केपी ओलीलाई गाली मात्र नगरेर केपी ओली प्रवृत्ति पैदा हुनुको पछाडिको समीक्षा गर्नु आवश्यक रहेको उनले बताए। उनले त्यसको समिक्षा गरिएन भने फेरि महेन्द्रहरु जन्मिने र फेरि ओली जन्मिने जिकिर गरे ।

खड्कप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, अब अन्तिम घोषण गर्न बाँकी छ : नेतृ झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओली कागजी बादशाह भएको आरोप लगाएकी छन्। संसद विघटनविरुद्ध राजधानीमा प्रचण्ड-नेपाल समूहको शक्तिप्रदर्शन पछि विरोधसभा बोल्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन्।

‘आज राजधानीका सडकमा छरपस्ट मानिसले भनेका छन्, खड्कप्रसाद ओली काजगी बादशाहा हुन्। ती ढलिसके। अब अन्तिम घोषणा गर्न बाँकी छ,’उनले भनिन्। उनले प्रधानमन्त्री ‌ओलीको पछिल्लो कदमलाई अधोगतिको संकेत दिइन्।

‘जब बादशाहा या तानाशाहाले आफ्नो कदलाई घटाउँदै घटाउँदै जान्छन् त्यतिबेला राज्यको सम्पतिको दोहोन गर्दै कागजका अग्ला कदका प्रतिमा मात्र होइनन् बुख्याचाहरु बनाउँछन् ओलीले त्यही गरेका हुन्। यो अधोगति हो।’

उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध नबोलेर र व्यक्तिको प्रवृत्तिविरुद्ध आवाज उठाएको जिकिर गरिन्। उनले भनिन्,’ कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्सजस्तै प्रधानमन्त्री या मन्त्रिपरिषदका निर्णयहरुलाई खुसुस्क सही छाप गर्ने राष्ट्रपतिका विरुद्ध आवाज उठाएको हो। यो राष्ट्रपति सम्मानीय संस्था हो। यो हाम्रो बलिदानीले प्राप्त गरेको संस्था हो। हाम्रो शीरमाथिको संस्था हो।’

‘त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरुंकुशको सांक्षी बस्छ भने त्यस्ता व्यक्तिको विरुद्धमा बोल्न पाइन्छ। एउटा खलपात्रकाविरुद्ध बोल्दै गर्दै यहाँ कसले भन्छ महिला अस्मिता मिचियो भनेर। बोल्न पाइन्छ,’ उनले भनिन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome