सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

बलात्कार मुद्दाका आरोपित रिहा, उजुरीकर्ता कैदमा

२९ माघ, २०७७ १६:५१ मा प्रकाशित

831 पटक पढिएको

district court saptari

राजविराज – झुठा जाहेरी दिने र अदालतमा बयानका क्रममा बोली फेर्ने क्रम बढेपछि बुधबार सप्तरी जिल्ला अदालतले एक जाहेरवालालाई नै कैद सजाय र जरिवाना गरेको छ ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले बलात्कार मुद्दामा झुठा उजुरी दिने महिला जाहेरवालालाई एक महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

जाहेरवालाले आफ्नी १६ वर्षीया छोरीलाई ०७७ भदौ २० गते सप्तरीको खडक नगरपालिका–११ का १८ वर्षीय तेजनारायण साहले बलात्कार गरेको भन्दै उजुरी दर्ता गराएकी थिइन् । इलाका प्रहरी कार्यालय कञ्चनरूपले पीडितको स्वास्थ्य परीक्षण गर्नुका साथै साहलाई भदौ २१ गते पक्राउ गरी जबरजस्ती करणी मुद्दामा कारवाही थालेको थियो ।

अदालतको आदेश बमोजिम ०७७ असोज १६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राखिएका साह भने निर्दोष साबित हुँदै बुधबार नै रिहा भएका छन् ।

साथी अनील साहसँगै खाना खान पीडितको घर गएका परिचित साहले कोठामा कोही नभएको मौका छोपी बलात्कार गरेको पीडितले समेत प्रारम्भिक वयान दिएकी थिइन् । तर अदालतको थुनछेक आदेशबमोजिम आरोपित कारागारमा थुनामा पुगेपछि पीडित र पीडितकी आमा होस्टाइल भएकी छन् । उनीहरुले पछिल्लोपटक आफूहरुले प्रहरीमा उजुरी नदिएको, आफूले सहीछाप नगरेको, आरोपितले बलात्कार नगरेको जस्ता उल्टा वयान दिएका छन् ।

पाँच महिनादेखि चिनजान भई घरकोठामा सँगै बसेको बेला पीडितका परिवारले थाहा पाएर विवाह गर्न दवाव दिएको र नमान्दा प्रहरीमा झुठा उजुरी गरेको आरोपितले सुरुदेखिनै बताउँदै आएका थिए । चिनजानका आधारमा ओभरसियर अध्ययनरत सहलाई खाना खान घर बोलाएर विवाह गर्न दवाव दिएको तथा सो दवाव नमाने पछि प्रहरीमा बलात्कारको झुठा उजुरी गरेको साहका बुवा श्रवण साहले बताए ।

जबर्जस्ती करणीका हकमा उजुरी गर्ने र बकपत्र गर्नेले झुठा विवरण दिए वा लेखाएमा कानुनले सजायको व्यवस्था गरेको छ । झुठा जाहेरी दिने र अदालतमा बयानका क्रममा बोली फेर्ने क्रम बढेपछि यस सम्बन्धी कानुन बनेको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome