३० माघ, २०७७ १६:२३ मा प्रकाशित
202 पटक पढिएको
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा आउन लागेको पूर्वाधार निर्माण कम्पनीमा सरकारले ५० करोड लगानी गर्ने भएको छ । उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको अर्थमन्त्रालयले जनाएको छ ।
पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गैरआवासीय नेपाली संघको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको तर्फबाट उक्त कोष सञ्चालन गर्ने सन्दर्भमा आवश्यक रकमका साथै अन्य सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाई तत्काल काम सुरु गर्न गैरआवासीय नेपाली संघलाई उनले आग्रह गरे ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया छिट्टै टुङ्ग्याइ दर्ता काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ । ८५ प्रतिशत शेयर विदेशमा रहेका नेपालीका लागि आइपिओ खोल्ने तयारी छ ।
गैरआवासीय नेपाली संघका अनुसार लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको र विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न उत्सुक देखिएका छन् । अर्थमन्त्री पौडेलसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट समेतको उपस्थितिमा अर्थ मन्त्रालयमा छलफल भएको थियो ।