बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

संसद पुनर्स्थापना हुने गगन थापाको दावी

३ फाल्गुन, २०७७ १८:३२ मा प्रकाशित

809 पटक पढिएको

gagan thapa nepali congress

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापा संसद पुनर्स्थापित हुनेमा दावी गरेका छन्। संसद विघटनविरुद्ध विरोधसभामा सम्बोधन गर्न चितवन पुगेका थापाले पुनर्स्थापित संसदले मात्रै देशलाई चुनावमा लैजाने दावी गरेका हुन्।

‘देश चुनावमै जान्छ। तर चुनावको सही बाटोमा जान्छ। संसद आउँछ। पुनर्स्थापित संसदले देशलाई चुनावमा लिएर जान्छ। किनभने पुनर्स्थापित संसदले मात्र देशलाई चुनावमा लिएर जान पाउँछ,’ उनले भने। उनले अहिले कांग्रेसको मुख्य काम प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कामको विरोध गर्ने र त्यसलाई सच्याउन लगाउने र संसद फिर्ता ल्याउने रहेको बताए।

उनले मनलाग्दी बोलेको भन्दै प्रधानमन्त्री ओलीलाई आफूले बोलेका कुराको पुष्टि गर्न समेत चेतावनी दिए। उनले भने,’ तपाईले बोलेका कुरालाई पुष्टि गर्नुपर्छ। मलाई नक्सा बनाउँदा अप्ठ्यारो पार्यो भन्नु भएको छ। तपाईलाई नेपालको नक्सामा लिम्पियाधुरा लिपुलेक राख्दै गर्दा कसले अप्ठ्यारो पार्‍यो। तपाईको कसले विरोध गर्‍यो। तपाईलाई घेराबन्दीमा कसले पार्यो। उत्तर दिन सक्नु हुन्न। किनभने कोही पनि थिएन,’उनले भने।

प्रधानमन्त्रीले पशुपतिको प्रांगणमा उभिएर जब पशुपतिको रक्षा मैले गर्छु भनेर गफ गर्नुहुन्छ त्यतिबेला आफूलाई एेठन हुने बताए। ‘प्रधानमन्त्री पशुपति जानुभयो। त्यो प्रधानमन्त्रीको छनोटको कुरा हो । पशुपतिको जानुहोस्, ढोग्नुहोस् शिव भगवान् मेरो पनि तपाईको पनि हो। आराध्यदेव शिवकोमा जाने मेरो जत्तिकै हक तपाईको पनि छ। तर पशुपतिको प्रांगणमा उभिएर जब पशुपतिको रक्षा मैले गर्छु भनेर गफ गर्नुहुन्छ। तपाईलाई मैले संझाउनुपर्ने हुन्छ, उनले भने,’ तपाई जतिखेर ह्यात होटलमा लुकेर कोरियाबाट आउनु भएको माताले दिएको होलि वाइन खाँदै हुनुहुन्थ्यो, हो त्यतिखेर हामी पशुपतिको प्रांगणमा आरती गरिरहेका थियौं।’

नेता थापाले प्रधानमन्त्रीले कहिले राम मन्दिर त कहिले पशुपति गएर नेपालीको भावनामाथि खेलबाड गर्न खोजेको आरोप लगाए। ‘प्रधानमन्त्रीले कहिले रामको मन्दिर कहिले पशुपतिको मन्दिर भनेर खेल्दै गर्दा प्रत्येक नेपालीले बुझ्नु छ प्रधानमन्त्री तपाई र मेरो भावनामाथि खेल्न खोज्दैछन् उनले भने,’ यो कुरा सबै नेपालीले बुझ्नु आवश्यक छ।’

नेपाल कम्युनिस्ट पार्टीले तीन वर्षसम्म समृद्धि नेपाल, सुखी नेपालीको नारा लगाए पनि अहिले सन्की प्रधानमन्त्री र अस्तव्यस्त नेपाल मात्र रहेको उनले जिकिर गरे। उनले भने,’त्यही नाराका साथ नेकपा विजयी भएर आयो। तर आज हामीसँग समृद्धि नेपाल छैन, सुखी नेपाल पनि छैन। आज सन्की प्रधानमन्त्री र अस्तव्यस्त नेपाल छ। हामीले तीन वर्षको परिणाम भोग्दैछौं।’

प्रधानमन्त्री ओली पुस ५ गते एकाएक ‌ओली भएर निस्कनुको पछाडि विभिन्न घटना भएको उनको दावी छ। ‘प्रधानमन्त्री रातारात ओली बनेका होइनन्। प्रधानमन्त्रीलाई पुस ५ गते दुस्साहस गर्ने ठाउँसम्म पुग्दै गर्दै धेरै घटनाले पुर्‌याएको हो।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome