३ फाल्गुन, २०७७ १८:३५ मा प्रकाशित
618 पटक पढिएको
काठमाडौं – पछिल्ला केही दिन थोरै अलमलिएको सेयर बजार नेपाल राष्ट्र बैंकको ‘ग्रिन सिग्नल’ पछि फेरि चम्किएको छ। नेपाल राष्ट्र बैंकले फागुन २ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले सेयर बजारलाई नीतिगत रुपमा हरियो बत्ति देखाइदिएपछि बजारमा फेरि हरियाली छाएको हो।
सोमबार बजारमा गजबको उत्साह देखियो। कारोबार खुल्नसाथ हरियाली छाएको बजार सोमबार मात्रै ९२.४२ अंक बढेर २५८६.०१ विन्दुमा पुगेको छ। कारोबार पनि निकै उत्साहजनक देखिएको छ। सोमबार मात्रै १० अर्ब बढीको कारोबार भएको छ। सबै समूहको सूचक बढेको छ। तुलानात्मक रुपमा इन्सुरेन्स र लघुवित्तमा बढी उछाल देखिएको छ।
बाहिर चलाइएको चर्चा र अनुमानलाई चिर्दै राष्ट्र बैंकबाट सेयर बजारलाई असर गर्ने कुनै पनि नीतिगत परिवर्तन नगर्ने स्पस्ट प्रतिवद्धता आएपछि पछि सेयर बजारका लगानीकर्ताहरू उत्साहित भएका छन्। त्यसको सकारात्मक प्रभाव सोमबारको सेयर बजारमा देखिएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा सेयर बजारलाई कस्ने,शेयर धितो कर्जामा हेरफेर गर्ने, लघुवित्त कम्पनीको सेयरम बैंकहरुले लगानी गर्न नपाउने लगायतका हल्ला चलाइएपछि सेयर बजार केही दिन अलमलिएको थियो र लगानीकर्तामा एक खालको अन्योल पनि थियो। अर्धवार्षिक समिक्षाले सेयर बजारको बुल रनलाई ‘ग्रिन सिग्नल’ दिएपछि अब नीतिगत अन्योल हटेको छ। बजारले फेरि अर्को उचाइ चुम्ने भएको छ।
अर्धवार्षिक समिक्षामा सेयर धितो कर्जाको सीमालाई यथावत् राखिएको छ। अनिवार्य तरलता अनुपात तीन प्रतिशतलाई निरन्तरता दिइएको छ र वैधानिक तरलता अनुपातलाई पनि यथावत राखेको छ भने बैंक दरलाई पनि परिवर्तन गरिएको छैन। कोभिड प्रभावित ऋणीलाई सहजीकरण गर्दै उद्यमी ब्यवसायीका लागि ऋण पुनर्तालिकीकरण र पुनर्संरचना गर्न २०७८ असार मसान्तसम्म समय थप भएपछि राहत महसुस भएको छ।
राजनीतिक अन्योलबीच पनि निरन्तर उकालो लागेको सेयर बजारमा अनावश्यक हल्ला फैलाएर सेयर बजार घटाउन एउटा समूह सक्रिय भए पनि त्यो प्रयास सफल हुन सकेन। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको पूर्वसन्ध्यामा एउटा समूहले राम्रा कम्पनीहरूको मूल्य घटाएर सेयर कब्जा गर्ने खेलअनुसार अनेक हल्ला र अनुमान फैलाएर बजारको वातावरण विथोल्ने र सेयरको बजारको गतिलाई अलमल्याउने प्रयास गरेका थिए। अब राष्ट्र बैंको नीतिगत स्पस्टतापछि सेयर बजार अब परिपक्क गति र लयमा फेरि चम्किने लगानीकर्ताहरूको विश्वास छ।
राज्यको राजस्वमा महत्वपूर्ण योगदान पुर्याउने क्षेत्र नै अहिले सेयर बजार भएको छ। दैनिक छ अर्बभन्दा बढी कारोबार भइरहेको छ। सेयर खरिद बिक्रिका लागि २० लाख भन्दा बढीले डिम्याट खाता खोलेका छन्। दैनिक १५ हजारको हाराहारीमा लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने गरेका छन्। ८० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाटै हुन्छ। पुस ५ मा संसद् विघटनपछिको राजनीतिक अन्योलबीच पनि सेयर बजारमा निरन्तर उछाल देखिएको छ।राजनीतिक अन्योलसँग लगानीकर्ताहरू खासै डराएका छैनन्। वित्तिय प्रणालीमा अधिक तरलता, सस्तो ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजारले ‘बुलिस रन’ मा अघि बढेको छ।
सेयर कारोबार लागु भएको ‘ टि प्लस टु’ प्रणालीले पनि बजारलाई थप चलायमान बनाएको छ। यो नयाँ प्रणालीअनुसार सेयर किनबेच गरेको २ दिनमै सेयर कारोबारको राफसाफ तथा फर्सौट हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले पुँजी बजारलाई प्राथमिकता दिदै पहिलो पटक पुँजी बजार फोरम गठन गरेको छ । एएनसीसीआइको निर्वाचनमा एसोसिएट्सतर्फ सबैभन्दा बढी मत ल्याएर निर्वाचित कार्यकारी सदस्य अम्बिकाप्रसाद पौडेललाई यसको नेतृत्व दिएपछि पुँजी बजारको संस्थागत विकासका लागि पहल सुरु भइसकेको छ।
गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो।
यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा पनि सेयर बजारले १८८१ बिन्दुको नयाँ रेकर्ड कायम गरेको थियो। पुँजी बजारलाई प्रोत्साहित गर्ने नयाँ अर्थमन्त्रीको नीतिगत तयारीसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन्। संकटका बेला लगानीका अरु क्षेत्र खुम्चिएको तथा जोखिम बढेकोले पनि लगानीकर्ताहरू सेयर बजार प्रति बढी आकर्षित देखिएका छन्। पुँजी बजारलाई प्रोत्साहन गर्नेतिर अर्थमन्त्री, गभर्नर तथा अन्य सरोकारवाला निकायको भूमिका सकारात्मक देखिएकोले पनि लगानीकर्तामा आत्मविश्वास र उत्साह जागेको हो।