बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

आफूलाई गाडी किन्ने पैसाले उपमेयरले किनीन् एम्बुलेन्स

४ फाल्गुन, २०७७ १७:१७ मा प्रकाशित

318 पटक पढिएको

vice mayor purchased ambulance instead of personal car

उदयपुर – देशभर जनप्रतिनिधिहरुको गाडी मोह बढिरहेको बेलामा उदयपुरका एक जनप्रतिनिधिले जनताको सेवाका लागि आफ्नो गाडी किन्ने रकमले एम्बुलेन्स खरिद गरेकी छिन्। जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकाकी उपमेयर भिमकुमारी राउतले सुविधाका लागि गाडी खरिद गर्न लागिएको रकमबाट एम्बुलेन्स खरिद गरेर कटारी नगरपालिकालाई हस्तान्तरण गरेकी हुन्।

बिरामी, सुत्केरी तथा गर्भवति महिला, बालबालिका, असाहय, जेष्ठनागरिक तथा विपन्न वर्गलाई लक्षित गरी राउतले आफ्नो सुविधाका लागि विनियोजन भएको बजेट एम्बुलेन्स खरिदमा लगाएकी हुन्।

भौगोलिक विकटताका कारण कतिपय बिरामीले अस्पतालसम्म ल्याउने साधन नपाउने, आर्थिक अवस्था कमजोर हुँदा घरमै बस्नु पर्ने बाध्यताले अकालमै मृत्युवरण गर्नु परेकाले आफू विलासितामा रमाउन नसक्ने भन्दै यस्तो निर्णय गरेको उनको भनाइ छ। कार्यपालिकाले नगरसभामार्फत उपमेयरको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो। राउतले जनताको करबाट आफू विलासी सुविधा नलिने भन्दै भइरहेकै सवारी साधन मर्मतसम्भार गरी प्रयोग गर्ने बताएकी छिन्।

खरिद गरिएको एम्बुलेन्स एक कार्यक्रमका बीच अस्पतालका प्रमुख डा. राजकुमार गजमेर र व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज दनुवारलाई हस्तान्तरण गरिन्। उपमेयर राउतले भनिन्, ‘सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निःशुल्क घरसम्म पुर्‍याउन एम्बुलेन्सको प्रयोग गरिनेछ। त्यसबाहेक अन्यलाई न्युनतम शुल्कमा सेवा दिइने छ।’

नगर कार्यपालिकाको अघिल्लो आर्थिक वर्षको नगरसभामार्फत् उपप्रमुखको सुविधाका लागि सवारी साधन खरिद गर्ने गरी ४० लाख बजेट विनियोजन गरिएको थियो। ४० लाखमा १२ लाख रुपैयाँको एम्बुलेन्स किनेर कटारी अस्पताललाई हस्तान्तरण गरिएको कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले बताए।

उनले भने, ‘एम्बुलेन्स खरिदसँगै बाँकी रहेको २८ लाखमा २४ लाख पर्यटकीय क्षेत्र बेतेनीमा अधुँरो रहेको पर्यटन भवन पूरा गर्न प्रयोय गरिएको र चार लाख अन्य शीर्षकमा खर्च गरिएको छ।’

‘जनता गरिबीको रेखामुनि छन्, खान पुग्ने अवस्था छैन्’, उपमेयर राउतले भनिन्, ‘गरिबीका कारण घरमै सुत्केरी हुनु पर्ने अवस्था छ, ज्यानको बाजी मार्नु पर्ने अवश्था छ, त्यसैले मैले विलासीता खोजिनँ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome