बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

जिपले किचेर दुई वर्षीय बालकको मृत्यु

६ फाल्गुन, २०७७ १८:२२ मा प्रकाशित

225 पटक पढिएको

kalikot mishap

कालिकोट – कालिकोटको रास्कोट नगरपालिका– ७ सान्नीघाट बजारमा जिपले किचेर बालकको मृत्यु भएको छ ।

कर्णाली करिडोरमा सञ्चालित मे १ ज ११४९ नम्बरको जिपले सान्नीघाटमा व्यापार गर्दै आएका गोबिन्द्र सिम्खाडाको दुई वर्षीय छोरा प्रेम सिम्खाडालाई किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

सामान्य घाइते भएका बालकलाई मार्नका लागि चालकले गाडी पछाडि ल्याएर टाउँकोमा टायर चढाएर मारेको स्थानीयले बताएका छन् । गाडी क्रस हुने क्रममा बच्चालाई सामान्य ठक्कर दिएको थियो ।

स्थानीयले बच्चालाई मार्यो भनेर हल्ला गरेपछि चालक उमाकान्त पाठकले गाडी ब्याक गरेर बच्चाको टाउकोमा टायर चढाएर मारेको स्थानीय कर्ण विश्वक्रर्माले बताए ।

बच्चालाई हत्या गरेर चालक नजिकै रहेको अस्थाई प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले चालकलाई सुरक्षामा राखेको छ ।

स्थानीयले गाडीलाई जलाएका छन् । स्थानीयले चालकलाई पनि जलाउन दिनु पर्ने भन्दै प्रहरी चौकीमा समेत तोडफोड गरेका छन् । सुरक्षाका लागि जिल्लाबाट थप प्रहरी टोली घटनास्थल पठाइएको छ ।

स्थानीय र बालकका आफन्तले भने समितिका मान्छे, चालकलाई राखेर मात्र छलफल गर्ने र प्रहरीलाई मुचुल्का गर्न दिने अडान लिएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले घटना भएको र त्यहाँ जिल्लाबाट प्रहरी निरीक्षक महेश शाहीको नेतृत्वमा प्रहरी पठाएको बताए ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

आफन्तले बुझेनन् बालकको शव

जिपले किचेर ज्यान गुमाएका बालकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।

जिल्लाको शान्तिघाट बजारमा जिपले बालकको ज्यान लिएपछि गाडी मालिक र मृतका आफन्तबीच भएको छलफलमा सहमति हुन नसकेपछि आफन्तले शव बुझ्न अस्वीकार गरेका हुन्।

गाडी चालक र पीडित परिवारबीच सहमति नहुँदा मृतक बालकको शव जिल्ला अस्पताल ल्याइने भएको छ।

दुबै पक्षबीच जिल्लामै छलफल गरेर सहमति जुटाउने जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताए।

स्थानीय गौरी संज्यालका अनुसार मृतक पक्षले बालकको क्षतिपूर्ति तीस लाखसम्म मागेका छन्। अर्को पक्षले तीस लाख दिन नसक्ने बताएको छ।

गाडी जलाएर क्षति गरेको भन्दै गाडी मालिकले तोकेको राहत दिन नसक्ने बताएका छन्। पीडित पक्षले चालकले जानाजान बालकको हत्या गरेको भन्दै बीमासहित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने बताएका हुन्।

मृतक बालकका आफन्त र स्थानीयले बुधबारदेखि शान्तिघाट बजारमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनले कर्णाली करिडोर अवरुद्ध छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome