शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

प्रतिनिधिसभा विघटन अग्रगामी कदम हो : गृहमन्त्री

८ फाल्गुन, २०७७ १८:१९ मा प्रकाशित

705 पटक पढिएको

home minister ram bahadur thapa

विराटनगर – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा विघटन क्रान्तिकारी र अग्रगामी कदम भएको बताएका छन्। शनिबार विराटनगरमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन्।

नेकपा प्रधानमन्त्री केपी ओली समूहका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री बादलले प्रतिनिधिसभा विघटन संवैधानिक भएकोसमेत दाबी गरे। ‘प्रतिनिधिसभा विघटन क्रान्तिकारी र अग्रगामी कदम हो’, सभालाई सम्बोधन गर्दै थापाले भने, ‘यो कदम संवैधानिक पनि छ।’

गृहमन्त्री थापाले देशको विकास, सुशासन र प्रगतिको निम्ति स्थायित्व अनिवार्य भएकाले त्यसका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरे। संसदीय फोहोरी खेलले देश अस्थिरताको दुष्चक्रमा फसेको र देशमा समस्या भएकाले यो कदम उठाइएको बताए।

उनले संसद पुनस्र्थापना भए फेरि संसदीय फोहोरी खेल हुने भन्दै स्थायित्वका निम्ति सरकारले घोषणा गरेको चुनावमा होमिन अनुरोध गरे। उनले संसद् पुनस्र्थापना भए फेरि फोहोरी खेल सुरु भए देशमा स्थायित्व नहुने बताए।

‘पुरानो संसद जसले अस्थिरता जन्मायो। सरकारलाई काम गर्न दिएन। सरकारका काममा अवरोध खडा गर्यो’, थापाले भने, ‘त्यसैले नयाँ प्रतिनिधिसभाको आवश्यकता भयो। त्यही आवश्यकताका लागि पुरानो संसदको विघटन र नयाँ संसदले मात्र यो देशमा स्यायित्व कायम गर्न सक्छ। देशको समृद्धिको यात्रालाई अगाडि बढाउन सक्छ।’

थापाले नेकपाको प्रचण्ड–नेपाल समूहका गतिविधितर्फ चर्को आलोचना गर्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई बचाउँमा समय खर्चिएका हुन्। उनले अदालतको निर्णय आफूहरुले मान्ने र देशको विकासकै पक्षमा अदालतले फैसला गर्ने विश्वाससमेत व्यक्त गरे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome