आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

वीरगन्जमा मधेस आन्दोलनका सहिदहरुको शालीक अनावरण

८ फाल्गुन, २०७७ १८:२३ मा प्रकाशित

596 पटक पढिएको

martyrs of madhesh revolution

वीरगन्ज – वीरगन्जमा मधेस आन्दोलनका सहिदहरुको शालीकको शनिबार अनावरण गरिएको छ। घण्टाघर चोक स्थित प्रहरी चौकीको छेउको खाली जग्गामा नवनिर्मित सहिद स्मारक परिसरमा निर्माण गरिएका मधेस आन्दोलनका ७ जना सहिदका शालीकको शनिबार अनावरण गरिएको हो।

पर्साका प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले संयुक्त रुपमा शालीकको अनावरण गरेका हुन्।
सांसद यादवको संसदीय कोषको २८ लाख र वीरगन्ज महानगरपालिकाको १० लाख गरी कुल ३८ लाख रुपैयाँको लागतमा सहिद स्मारकका साथै ७ जना सहिदको शालीक निर्माण गरिएको हो।

नवनिर्मित सहिद स्मारक परिसरमा, २०७२ सालको मधेस आन्दोलनका क्रममा वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सहिद धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोलाप्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशीष राम गरी ७ जना सहिदको शालीक निर्माण गरिएको हो।

जनता समाजवादी पार्टी पर्साले आयोजना गरेको शालीक अनावरण कार्यक्रममा सहिदका परिवारलाई सम्मान पनि गरिएको थियो। शालीक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रदीप यादवले मधेसी सहिदकै बलिदानीको जगमा मुलुकमा संघीयता, समावेशिता जस्ता राजनीतिक उपलब्धी हासिल भएको बताए।

उनले भने, ‘मधेस आन्दोलनका सहिदहरुको बलिदानीले नै मुलुकले संघीयता, समावेशिता जस्ता उपलब्धी पाएको हो, त्यसैले सहिदको बलिदानी हाम्रा लागि सदैव स्मरणीय रहनेछ।’ मधेस आन्दोलन आन्दोलन मात्र नभइ मधेसको आस्थासँग जोडिएको जनविद्रोह भएको उनले बताए।

उनले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक एंव प्रतिगमनकारी कदमले अहिले संविधान मात्र नभइ प्राप्त राजनीतिक उपलब्धी पनि संकटमा परेको बताए। यसलाई जोगाउन पुन एक पटक मधेसी जनता संघर्षमा होमिएको भन्दै उनले जनताको जनविद्रोहले ओलीले घुडाँ टेक्ने दाबी पनि गरे।

सहिद स्मारकमा छुटेका अन्य ३ जना सहिदको शालीक पनि छिट्टै निर्माण गरिने प्रतिबद्धता पनि उनले जनाए। जसपाका पर्सा अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई नगर प्रमुख विजय सरावगी, प्रदेशसभा सदस्य करिमा बेगम, भीमा यादव, प्रह्लाद गिरी, जन्नत अन्सारी, सिंहासन साह कलवार , जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, जसपाका केन्द्रीय सदस्यहरु मेनिका सिंह, शिव पटेल लगायतले सम्बोधन गरेका थिए। कार्यक्रमको सञ्चालन जसपाका जिल्ला सचिव तबरेज अहमदले गरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome