मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

बृहत् नागरिक आन्दोलनको घोषणापत्र २०७७ सार्वजनिक

८ फाल्गुन, २०७७ १८:३५ मा प्रकाशित

603 पटक पढिएको

public protest

काठमाडौं – बृहत नागरिक आन्दोलनले घोषणापत्र सार्वजनिक गरेको छ। ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार बृहत नागरिक आन्दोलनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सैनिकले प्रतिबन्ध लगाएको टुडिँखेलको जमिनलाई सार्वजनिक भएको समेत घोषणा गरेको छ।

घोषणापत्रमा संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको टिप्पणी गरिएको छ। ‘ओली नेतृत्वको वर्तमान सरकारले जनताको मौलिक हकमा, संघीयताको आधारभूत सिद्धान्तमा, समानुपातिक समावेशीको अभ्यासमा, धार्मिक अधिकारको मर्ममा, राज्य संयन्त्रका अवयवहरुमा, संवैधानिक निकायहरुमा, सर्वसाधारणको स्वास्थ्य र शिक्षामा, किसान र श्रमिकका जीविकोपार्जनमा, हुँदाहुँदै जनताको ठूलो बलिदानी, संघर्ष र आन्दोलनहरुबाट प्राप्त व्यवस्थामा नै सर्वसत्तावादी प्रहार गर्यो।’ घोषणापत्रमा भनिएको छ, ‘सरकारका यी प्रतिगामी कार्यले राजनीतिक गतिरोध र प्रणालीगत संकट मात्रै सिर्जना गरेन, मुलुकलाई अन्यौल र मुठभेडतर्फ धकेल्यो। बृहत् नागरिक आन्दोलनसँगै हातेमालो गर्दै रचनात्मक र सांस्कृतिक जागरुकता लागौँ। मुलुकलाई नयाँ दिशानिर्देश गरौँ।’

घोषणापत्रमा बृहत् नागरिक आन्दोलनलाई सशक्तरुपमा जारी राख्दै नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान गरिएको छ। ‘समग्र राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित नगरी आजको ऐतिहासिक कार्यभार पूरा हुँदैन। न त २००७ सालयता निरन्तर घात भोगिरहेको लोकतन्त्रले जीवन्तता पाउँछ। न त आमजनताले आफ्नो भाग्यको फैसला आफैं गर्न पाउने राजनीतिक प्रक्रिया सुनिश्चित हुन्छ।’घोषणापत्रमा भनिएको छ, ‘आउनुहोस्, हामीमा निहित अधिकारसहित सम्पूर्ण नागरिकहरु जागौँ। मुलुकलाई नयाँ निकास दिऊँ। लोकतन्त्रलाई उन्नत बनाऔँ। बृहत् नागरिक आन्दोलनलाई सशक्तरुपमा जारी राख्दै नागरिक सर्वोच्चता स्थापित गरौँ।’

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले विभिन्न विरोधका कार्यक्रमहरू गर्दै आएको छ। ‘टुँडीखेल मार्च’नाम दिइएको उक्त प्रदर्शनमा साहित्यकार-लेखक, पत्रकार, संस्कृतिकर्मी, अधिकारकर्मी लगायत अगुवाहरुको उल्लेख्य सहभागिता थियो। नागरिक सभामा लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला, पत्रकार नारायण वाग्ले लेखक युग पाठक, सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, नेपालमान डंगोल, जितेन्द्र चेपाङ, रिता शाहलगायतले सम्बोधन गरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome