१० फाल्गुन, २०७७ २०:१८ मा प्रकाशित
245 पटक पढिएको
गोरखा – गोरखा बारपाक सुलीकोट गाउँपालिमा एकै घरका तीनजना मृत अवस्थामा भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीनजना मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार एकजना वृद्ध, उनकी बुहारी र अर्की एक बालिका (छोरीकी छोरी) मृत अवस्थामा भेटिएका हुन्। ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आईतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ आज बिहान मृत भेटिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
बिहान ढिलासम्म घरको ढोका नखुलेपछि अर्को घरमा बस्दै आएकी बुहारीले ढोका खोलेर हेर्दा तीनैजना मृत अवस्थामा भेटिएको स्थानीयलाई उद्धृत गर्दै लौडारीले बताए।
मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषाक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी निरीक्षक लौडारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ। प्रहरी घटनास्थल नपुगेकाले मृतकको विवरण प्राप्त भएको छैन। ‘हामी घटनास्थलतर्फ जाँदै छौ’, लौडारीले भने, ‘त्यहाँ पुगेपछि थप विषयमा बोल्न सकिन्छ।’
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बारपाक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेता भट्टराईले सोमबार सामाजिक संजाल ट्वीटमार्फत उक्त घटनाको निष्पक्ष छानबि गर्न माग गरेका हुन्। हाल डा.भट्टराई उपचारका क्रममा भारतको नयाँ दिल्लीमा छन्।
उनले ट्वीटमा लेखेमा छन्- ज्यादै दु:खद घटना ऐतिहासिक बारपाक-सुलीकोटको! घटनाको निष्पक्ष र तथ्यगत छानवीन होस्! शहर मात्र हैन गाउॅघर कुनाकाप्चाका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं! हार्दिक श्रद्धान्जली/समवेदना !