शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

रानिमहललाई हेरिटेज होटल बनाउने पर्यटन बोर्डको प्रस्तावको सर्वत्र विरोध

११ फाल्गुन, २०७७ १८:४१ मा प्रकाशित

468 पटक पढिएको

rani mahal palpa

पाल्पा – नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव सार्वजनिक गरेपछि जिल्लाभित्र र बाहिर सर्वत्र विरोध भएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानहरुका पर्यटन बोर्ड कसैको दवावमा परेर ऐतिहासिक पुरातातिव्क, धार्मिक तथा पर्यटकीय सार्वजनिक स्थल प्रेमको प्रतिक रानीमहल कुनै व्यक्ति वा समुहको फाइदाको लागि यस्तो प्रस्ताव ल्याएको भन्दै विरोध जनाएका छन्।

जनप्रतिनिधीदेखि सर्वसाधारण, राजनितिक दलका जिल्ला नेताहरु समेत विरोधमा उत्रिएका छन्। पर्यटन बोर्डले केन्द्रमा विरोध हुँदा हुँदै पनि आम जनमासको धारणा बुझ्न रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव सार्वजनिक गरेपछि जताततै विरोध भएको हो।

पर्यटन क्षेत्रमा विविधीकरण खोज्ने निहुमा, भारतीय पर्यटकहरु प्रशस्त भित्र्याउने बहानामा बोर्डका प्रमुख कायर्कारी अधिकृत सीईओ डा. धनन्जय रेग्मीले रानीमहल दरवारमा हेरिटेज होटल मार्फत नवजोडीको लागि हनिमुन गन्तव्य बनाउने प्रस्ताव ल्याएका थिए । बोर्डले ३० करोड रुपैयाँमा होटल सहित कालीगण्डकीमा पर्यटकीय संरचना निर्माण गर्ने प्रस्ताव सारेपछी होटल एसोसियसन अफ नेपाल (हान)ले रानीमहल दरवारभित्र होटल संचालन गर्नु नहुने भन्दै विरोध जनाएको छ।

रानीमहल दरवार राणा खड्ग शमशरेरले रानी तेजकुमारीको सम्झनामा ५ वर्ष लगाएर निर्माण गरेका थिए। उनले वि.स. १९४९ देखि निर्माण सुरु गरी १९५४ मा पुरा गरेका थिए। कालीगण्डकीको जगबाट उठाइ २४ रोपनी क्षेत्रफलमा फैलिएको रानीमहलमा २४ वटा कोठा, २ वटा पोखरी, मन्दिर बगैँचा र पाटी, घोडातबेला सहिताका संरचनाहरू रहेका छन्।

नेपाली कांग्रेस पाल्पाका सभापति एवं प्रदेश सांसद वीरबहादुर रानाले रानीमहल दरवारमा कुनै पनि हालतमा होटल राख्न नहुने बताए। उनले सामान्य कुरामा समेत ध्यान नदिइ पर्यटन बोर्डबाट यस्तो प्रस्ताव आउनु लाजमर्दो भएको बताए। नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्यले रानीामहल दरवारलाई होटलको रुपमा प्रयोग गर्दा सानो पक्षलाई फाइदा भए पनि समग्र जनताको हितमा नहुने बताए। ऐतिहासिक पुरातात्विक महत्वको रानीमहल विकास तथा प्रयोगको बारेमा स्थानीयसँग छलफल गरेर मात्र टुङ्गोमा पुग्नु पर्ने जिल्ला अध्यक्ष आचार्यको भनाइ थियो।

पुरातत्व विभागले रानीमहल दरवारलाई स्थानीय स्तरमा संरक्षण गर्न १० वर्षको लागि तानसेन नगरपालिकालाई जिम्मेवारी दिएको छ। विगत २ वर्षदेखि तानसेन नगरपालिकाले रानीमहल दरवारको रेखदेख गर्दै आएको छ। तानसेन नगरपालिकाले रानीमहल दरवारभित्रै परिसरलाई खुला संग्रहालयको रुपमा विकास गर्ने र पेरिफेरी क्षेत्रको २ सय रोपनी क्षेत्रफलमा, होटल, रेष्टुरा कफी सप, धार्मिक तथा पर्यटकीय गविविधि संचालनको लागि पब्लिक पार्टनरसिपको लागि ३ महिने सार्वजनिक प्रस्ताव आह्वान गरिएको नगर प्रमुख अशोककुमार शाहीले बताए।

दरवार भित्रै होटल संचालन गर्ने पक्षमा आफू र सिंगो जनतासमेत नरहेको पर्यटनबोर्डले आफ्नो अवधारणा मात्र सार्वजनिक गर्नाले रानीमहल कस्तो बनाउने बहसको विषय भएको नगर प्रमुख शाहीले बताए।

संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले रानीमहल होटल संचालन गर्दा पुरातत्व, ऐतिहासिकता, अपनत्व सबै हराउने भएकोले यस्ता संरचनामा पर्यटनबोर्ड सोच्नु गलत भएको बताए। पर्यटनबोर्डले पाल्पाली जनताको भावना माथि व्यापार गर्न खोजेको, व्यापारको नाममा रानीहलको एतिहासिकता नै नष्ट गर्न खोजेको संस्कृतिविद् सिंहले बताए।

रानीमहल दरवार आफैँमा पर्यटकीय स्थल भएकोले यसलाई संग्रहालयको रुपमा विकास गर्नुपर्ने तानसेनका शिक्षाविद् बुद्धिप्रसाद शर्माले बताए। ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय महत्वको रानीमहललाई होटल खोलेर व्यापार गर्नु भनेको इतिहासलाई समाप्त पार्नु भएको र भावी पुस्ताले धिर्कार्ने शिक्षाविद शर्माको भनाइ थियो। रानीमहलको मुल दरवार क्षेत्रलाई छाडेर अन्य क्षेत्रमा होटल व्यवसाय तथा अन्य पर्यटकीय गतिविधि संचालन गर्न सकिने शर्माले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome