शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

फालिएका टायरबाट कालीगण्डकीमा तटबन्धन

१२ फाल्गुन, २०७७ १८:५८ मा प्रकाशित

730 पटक पढिएको

dam in kaligandaki with scrap tyres

स्याङजा – पञ्चर भएर थन्क्याइएका वा फालिएका टायरको प्रयोग गर्दै तटबन्धन बनाइको छ। गल्याङ नगरपालिका १ स्थित उत्तरवाहिनी क्षेत्र अन्तरगत कालीगण्डकी नदी किनारमा तटबन्धन गरिएको हो।

खेर फाल्ने बस्तुकै प्रयोग गरौं भन्ने उदेश्यले कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले टायरको उपयोग गर्दै तटबन्ध वा पर्खाल लगाउने काम गरेको जनाएको छ। प्रतिष्ठानको कामलाई जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले पनि सहयोग बढाएको छ।

प्रतिष्ठानद्वारा संचालित गुरुकुल आश्रम नजिकै कालीगण्डकी किनार र अर्कोतर्फ झरेको वर्षे खोल्साबाट जोगाउन पर्खाल लगाइएको हो। कालीगण्डकी नदीको किनारमा रहेको आश्रम जोगाउनका लागि सहज र सस्तो उपाय खोजी गरिएको प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिए। उनले भने ‘(वेष्ट ईज बेष्ट)’ हो।

संस्कार, संस्कृति एवं संस्कृत पाठशाला रहेको आश्रममा शिक्षासेवी पदम पाण्डेले टायरको प्रयोग गरी पर्खाल लगाउन सकिने बताएपछि आफूहरु सो अभियानमा जुटेको कृष्णको भनाइ छ। पूर्व प्रधानाध्यापक समेत रहेका पाण्डेका अनुसार टायरबाट बनाइएका तटबन्ध २० देखि ४० वर्षसम्म टिकाउ हुनेछ।
मोटरसाइकल, ट्रक, ट्याक्टर, बस लगायतका टायरको प्रयोग गरिएको छ। सानो टायरको ५० रुपैयाँ र ठूला टायरको २ सयदेखि ४ सय रुपैयाँ प्रति गोटामा खरिद गर्ने गरिएको छ। टायरका लागि स्याङ्जा, पाल्पा र कास्कीबाट समेत निर्यात गरिएका छन्।

करिब ५० मिटर लम्बाइ र १५ देखि २० मिटर चौडाइमा टायरको पर्खाल लगाइएको छ। टायरका भित्री भागमा फलामका तारले बाँधिएका हुने र पानीले पनि खियाउन नसक्ने बताइएको छ। गाउँशहरमा यत्रतत्र फालिने तथा उपयोगमा नआएका टायरको प्रयोग गरी पर्खाल लगाउँदा कम खर्चमा सम्पन्न गर्न सकिन्छ।

तटबन्धका लागि कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको ८ लाख ५० हजार र जलस्रोत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको ४ लाख ७० हजार रुपैयाँ खर्च भएको छ। अहिलेसम्म ८ सय वटा टायर लगाइसकिएको र एक हजार २ सयभन्दा बढी लगाउने काम बाँकी छ। यही भदौ महिनादेखि सुरु गरिएको कामको ७५ प्रतिशत पूरा भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले आधुनिक गुरुकुल संचालन गरेको छ। अंग्रेजी र संस्कृत माध्यमबाट पढाइ हुने नेपालकै नमूना गुरुकुल रहेको अध्यक्ष कृष्णको भनाइ छ। आवाशीय सुविधा सहितको गुरुकुलमा कक्षा ६ र ७ मा गरी २५ जना विद्यार्थीले अध्ययन गर्दे आएका छन्। योग तथा प्राकृतिक अस्पताल सुरु गर्ने तयारीमा प्रतिष्ठान जुटिरहेको जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome