मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

६ वर्षअघि म्याद सकिएको ४ टन दाल नयाँ लेबलसहित बरामद

१३ फाल्गुन, २०७७ १५:४९ मा प्रकाशित

676 पटक पढिएको

inedible split pigeon peas on sale

विराटनगर – ६ वर्षअघि नै उपभोग्य म्याद सकिए पनि विराटनगरमा नयाँ लेबल लगाएर रहरको दाल बिक्री गरिरहेको फेला परेको छ। म्याद सकिएर खानका लागि अयोग्य भइसकेको दाल पुरानो लेबल हटाउँदै नयाँ लगाएर बजारमा बिक्री गर्दै उद्योगी, व्यवसायीले बदमासी गरिरहेको पुष्टि भएको हो।

वाणिज्य कार्यालय, प्रहरीसहितको अनुगमन टोलीले बुधबार लेबल परिवर्तन गरी बिक्रीका लागि राखिएको अवस्थामा ठूलो परिमाणको रहरको दाल विराटनगरबाट बरामद गरेको छ। विराटनगरका प्रतिष्ठित उद्योगी अविनाष बोहराको घरबाट सञ्चालित गोदामदेखि खानलाई अयोग्य भइसकेको दाल भेटिएको हो।

म्याद सकिएर प्रयोग गर्न नमिल्ने अवस्थाको दाललाई लेबल परिवर्तन गर्दै बिक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलले बताए। बरामद दाल करिब चार टन (३९ हजार छ सय किलो) छ। विराटनगर–९ मा रहेको जैसानी ट्रेड कन्सन्सले दुबईको कम्पनीबाट सो दाल आयात गरेको हो।

लेबल परिवर्तन गरी बिक्री गरेको पाइएपछि अनुगमन टोलीले बिक्रेतालाई तीन लाख रुपैयाँ जरिवाना पनि गरेको छ।

अफ्रिकी मुलुकबाट आयात गरिएको दालको खान मिल्ने म्याद भने सन् २०१५ मात्रै रहेको पाइएको छ। तर पुरानो म्याद हटाउँदै माथिबाट स्टिकर टाँसेर नयाँ म्यादसहितको लेबल लगाइएको पाइएको पोखरेलले बताए। स्टिकरमा सन् २०२० मा बनेको र उपभोग मिति सन् २०२२ सम्म रहेको उल्लेख गरिएको छ।

ट्रेड कन्सन्सका सञ्चालक निखिल बोहोराले बिक्रेताले पुरानो बोरा स्टक रहेकाले स्टिकर टाँस गरी नयाँ दाल नै पठाएका कारण बिक्री गर्न आफू बाध्य भएको दाबी गरे। निखिल विराटनगरका प्रतिष्ठित उद्योगी एवं व्यापारी अविनाषका आफन्त हुन्। भन्सारबाट जाँचपास भएर आएकाले आफूले पनि दाल बिक्रीका लागि बजारमा पठाएको निखिलको भनाइ छ।

वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख पोखरेलले एउटा लेबलमाथि अर्को लेबल लगाएर बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार तीन लाख रुपैयाँ जरिवाना गर्दै गोदाम सिल गरिएको जानकारी दिए। गोदामलाई सिल गरेर परीक्षणका लागि दालको नमुना संकलन गरिएको उनको भनाइ छ।

वाणिज्य कार्यालयको टोली बुधबार दिउँसो बजार अनुगमनका क्रममा विराटनगर–११ मा रहेको नयाँ गुद्री बजार पुगेको थियो। बजारमा रहेको ओम शान्ति किराना पसलमा लेभल परिवर्तन गरी बिक्रीका लागि राखिएको ‘तोर दाल’ लेखिएको १५ किलोको बोरा भेटेको थियो। खुद्रा बिक्रेताले आफूले थोक बिक्रेता पसलबाट खरिद गरेको बताएपछि अनुगमन टोली थोक बिक्रेता अनौखी ट्रेड एण्ड सप्लायर्समा पुगेको हो।

सो सप्लासर्यले बोहराले सञ्चालन गरेको जैसनी ट्रेड एण्ड कन्सन्सबाट ल्याएको बताएपछि अगुमन टोली गोदामसम्म पुगेको हो। गोदाममा आउँदै गरेको टोलीले पिकअप भ्यानमा बजार लैजाँदै गर्दा सोही दाल भेटेपछि रोकेको थियो।

‘हाम्रो टोली आउँदै गर्दा गोदामबाट एउटा गाडी निस्कँदै थियो’, अनुगमन टोलीमा रहेका उपभोक्तावादी संस्था पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेलले भने ‘गाडीमा हेर्दा लेबल परिवर्तन गरिएको दाल नै भेटिएपछि टोलीले गाडी फिर्ता गराइयो।’ निमित्त प्रमुख पोखरेलका अनुसार ओम शान्ति किराना पसललाई पाँच हजार र अनौखी ट्रेड एण्ड सप्लायर्सलाई पनि २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

उपभोग्य वस्तुमा लेबल परिवर्तन गर्न नेपालको कानुनले बर्जित गरेकाले कानुनले तोकेअनुसार तत्काल जरिवाना गरी सो सामग्री खान मिल्ने या नमिल्ने भनी जाँच गर्न नमुना संकलन गरिएको उनले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome