सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

सामूहिक आक्रमणमा संलग्न एक जना ६ महिनापछि पक्राउ, ११ अझै फरार

१७ फाल्गुन, २०७७ १७:१५ मा प्रकाशित

488 पटक पढिएको

arrested illustration

विराटनगर – मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा ज्यानै जाने गरी भएको सामूहिक आक्रमणको घटनामा संलग्नमध्ये एक जना ६ महिनापछि पक्राउ परेका छन् ।

घटना भएको लामो समयपछि मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरका ३८ वर्षीय ओमनारायण धामीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार आइतबार राति ९:३० बजेतिर बूढीगंगा गाउँपालिका–२ बाट धामीलाई नियन्त्रणमा लिइएको हो । गत भदौ १२ गते दिउँसोको घटनापछि फरार रहेका धामीलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको उनको भनाइ छ ।

घटनामा संलग्नमध्ये सात जना यसअघि नै पक्राउ परेका थिए । अदालतको आदेशबाट गत असोजदेखि पाँच जना पूर्पक्षका लागि थुनामा रहेका छन् भने दुई जना धरौटीमा छुटेका छन् । घटनामा संलग्न मुख्य अभियुक्त मोरङको बेलबारी नगरपालिका–५ का ३१ वर्षीय विनयकुमार सरदारसहित बेलबारी–५ का ३२ वर्षीय राजेन भनिने राजेन्द्र थुलुङ राई, ग्रामथान गाउँपालिका– ६ का ३३ वर्षीय वीरेन्द्रकुमार खाँ, ग्रामथान–५ का ३१ वर्षीय दीपेन भनिने दीपेन्द्रकुमार चौधरी र बेलबारी नगरपालिका–६ का ३८ वर्षीय विशालकुमार खवास (गच्छदार) थुनामा छन् ।

अदालतले ग्रामथान गाउँपालिका– ६ का ३४ वर्षीय जितेन्द्रकुमार चौधरीसँग चार लाख र २० वर्षीय यानव थुलुङ राईसँग दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो । कहाली लाग्दो हत्याको घटनामा १९ जनाविरुद्ध अदालतमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो ।

घटनामा संलग्नमध्ये हालसम्म आठ जना पक्राउ परेका छन् । तर ११ जना अझैसम्म फरार छन् । फरार रहेकाहरुको खोजी जारी राखिएको डीएसपी राईले बताए ।

लोहन्द्रा खोलामाथि लगाइएको बाँसको पुलका विषयलाई लिएर उत्पन्न विवाद ज्यानै लिने सामूहिक आक्रमणको घटनासम्म पुगेको थियो । पुल बनाएका स्थानीय युवाहरुले पुल प्रयोग गर्दा एउटा मोटरसाइकलसँग २५ रुपैयाँ पैसा उठाउँदै आएको विषयमा विवाद सुरु भएको थियो । पछि घटना सामूहिक आक्रमणमा परिणत भयो ।

घटनापछि ग्रामथान– २ का २७ वर्षीय कृष्णकुमार चौधरी, ७ का २५ वर्षीय प्रभात चौधरी, ६ का ३५ वर्षीय अनोज भनिने अनोदकुमार माझी, ३४ वर्षीय बलराम चौधरी, ४ का ३७ वर्षीय ओम धामी, ५ का ३४ वर्षीय दिनेश चौधरी माझी, ७ का २५ वर्षीय प्रेम चौधरी फरार छन् । त्यस्तै फरार हुने अन्यमा मोरङकै सुन्दरहरैँचा नगरपालिका– २ का २५ वर्षीय अशोक खवास, ११ का ३३ वर्षीय शम्भु भनिने दिनेश मास्के, २५ वर्षीय राजिन राई, २ का ३५ वर्षीय कचालु भनिने गीतार खवास, १ का २४ वर्षीय नलिन खवास छन् ।

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार र नाइके विनयकुमार सरदार र कृष्णकुमार चौधरी हुन् । आक्रमणमा उत्रिएको समूहले बन्चरो, खुकुरी लगायत घरेलु हतियारले प्रहार गरेर ४० वर्षीय चन्द्रकुमार राईको हत्या गरिएको थियो । युवाहरुबीचको विवाद छुट्याउन जाँदा बन्चरो प्रहार गरेर घाइते बनाइएका उनको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा घटना भएकै दिन ज्यान गयो ।

त्यही समूहले आक्रमण गर्दा चन्द्रकुमारका दाई ४२ वर्षीय सइकुमार राई, भाइ ३२ वर्षीय समुन्द्र र भतिज (सइकुमारका छोरा) १६ वर्षीय गौरव राई घाइते भएका थिए । पुलको विवादमा उक्त समूहले स्थानीय दिनेश भनिने घनेन्द्र श्रेष्ठलाई कुटपिट गरिरहेको देखेपछि सम्झाउन पुगेका चन्द्रकुमार र उनको परिवारकै अरु सदस्यमाथि त्यतिबेला आक्रमण भएको डीएपसी राईले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome