१९ फाल्गुन, २०७७ २०:५१ मा प्रकाशित
584 पटक पढिएको
काठमाडौं – मुलुकको सुरक्षा अवस्थाबारे छलफल गर्न मुलुकभरका जर्नेलहरू यतिबेला जंगीअड्डामा जम्मा भएका छन्। बुधबारदेखि सुरु भएको यो सम्मेलनमा मुलुकको सुरक्षा अवस्थाको नियमित समीक्षा तथा विश्लेषणसँगै मुलुकको समग्र वस्तुस्थितिबारे पनि छलफल हुँदैछ।
‘पृतनापति समन्वयात्मक बैठक’ भनिने यो सम्मेलनमा प्रधानसेनापति, उपत्यकासहित सबै प्रदेशका पृतना मुख्यालयका पृतनापति (उपरथी) हरू, पीएसओजमा रहेका रथी तथा विभागीय प्रमुख उपरथीहरू, उपत्यकास्थित बाहनीपति तथा सैनिक मुख्यालयस्थित विभिन्न निर्देशानालयको नेतृत्व गर्ने सहायकरथी सहभागी हुन्छन्। तीन दिनसम्म चल्ने यो बैठकमा खासगरी संसद् पुनर्स्थापनापछिको घरेलु राजनीतिक घटनाक्रम, भूराजनीतिक परिवेश, र त्यसले सुरक्षामा पार्नसक्ने संभावित असरबारे पनि छलफल हुने बताइएको छ।
वर्षेनी सेना दिवसको पूर्वसन्ध्यामा यो सम्मेलनको आयोजना हुने गरेको छ। यो बैठकलाई सेनाको नीति तथा रणनीति तर्जुमा लागि महत्वपूर्ण फोरमका रुपमा लिइन्छ। नीति निर्माण तथा नेतृत्वमा रहेका अधिकांश जर्नेलहरू एकै ठाउँ बसेर मुलुकको वस्तुस्थिति र सुरक्षाबारे रणनीतिक छलफल गर्ने यो बैठकले सेनाको अप्रेशनल नीति तथा कार्यदिशासमेत निर्धारण गर्दछ। जर्नेल बैठककको छलफल र निश्कर्षलाई राजनीतिक तहमा पनि अर्थपूर्ण रुपमा लिने गरिएको छ।
शुभारम्भ मन्तब्यको क्रममा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी ओलीले नेपाली सेनाको व्यवसायिकता, लगनशिलता र कर्तव्यबोधको भावनाको उच्च प्रशंसा गर्नुहुँदै ६/६ महिनामा आयोजना हुने रणनीतिक तहको यस बैठकले विगतको गहन समिक्षा सहित नेपाली सेनाको भावि कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरे। ओलीले यस प्रकारको बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषत नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्महरुका लागि मार्गदर्शन हुने कुरामा आफू पूर्ण रुपले विश्वस्त रहेको बताए।
सेनापति पुर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रुपमा विकास गर्ने लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थीकरण गर्दै कार्यसंस्कृतिका रुपमा स्थापित गर्दै लानु पर्ने आवश्यकता रहेकोमा जोड दिए। उनले यो समन्वयात्मक वैठकले विषयगत तथा क्षेत्रगत रुपमा हाल भईरहेका कार्यहरुको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्नु हुदैं राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनको लागि दक्ष, ब्यवसायीक र उच्च मनोबल भएको जनशक्तिको विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए।
बैठकमा युद्धकार्य महानिर्देशनालयले मुलुकको समग्र बस्तुस्थितिसहित राष्ट्रिय सुरक्षाको वर्तमान अवस्था, चुनौतीबारे विशेष प्रस्तुती गरेको थियो। त्यसैगरी हरेक प्रदेशमा रहेका पृतना मुख्यालयको नेतृत्व गर्ने उपरथीहरूले आआफ्नो कमान्डमा रहेको क्षेत्रको सुरक्षा अवस्थाबारे प्रस्तुत गरेका छन्। अन्य विभागीय प्रस्तुतीहरू पनि हुनेछन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले पृतनापति बैठक नियमित कार्यक्रम भएको बताए। यस किसिमको समन्वयात्मक बैठक र सहभागीहरुबाट प्राप्त महत्त्वपूर्ण राय सुझावहरुले नेपाली सेनाको आगामी कार्यदिशा तय हुनका साथै नीति तथा योजना निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको प्रवक्ता पौडेलले बताए।