शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सरकार र विप्लवबीचको सहमति सकरात्मक : कमल थापा

२० फाल्गुन, २०७७ १६:४८ मा प्रकाशित

575 पटक पढिएको

kamal thapa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाल सरकार र नेकपा विप्लव समूहकाबीचको सहमति सकारात्मक भएको रहेको प्रतिक्रिया जनाएका छन् । तीनबुँदे सहमति सार्वजनिक भएलगत्तै उनले ट्वीटमार्फत स्वागत गरेका हुन्। संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको थापाको भनाई छ।

उनले भनेका छन्, ‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ । संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य छ ।’

सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै दुई वर्ष अगाडि प्रतिबन्ध लगाएको थियो । उक्त समयमा मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले भनेका थिए, ‘विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिस्ट पार्टी नामको समूहद्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न हुने या सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई आपराधिक तथा विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने निर्णय गरिएको छ। त्यसैगरी अवैध हातहतियार तथा खरखजानाको नियन्त्रण गर्न सूचना जारी गर्ने निर्णय गरिएको छ।’

वार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका छन्। तीन बुँदे सहमतिमा विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ।

नेपाल सरकारको र विप्लवको वार्ताटोलीबीच बुधबार दुई चरण र बिहीबार बिहानको छलफलपश्चात सहमति भएको हो। वार्तासँगै शुक्रबार दिउँसो २ बजे विशेष कार्यक्रम गरेर सहमति सार्वजनिक गर्ने र उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्नेसमेत सहमति भएको छ।

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो। सरकारले वार्ता समिति बनाएको एक घण्टामै विप्लवलेसमेत खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजकत्वमा उदयबहादुर चलाउने ‘दीपक’सदस्य रहेको वार्ता समिति गठन गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome