शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

ओलीलाई साथ दिनु नहुने कांग्रेसका अधिकांश सांसदहरुको धारणा

२१ फाल्गुन, २०७७ १९:३६ मा प्रकाशित

392 पटक पढिएको

congress meeting nepal

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल बैठक सकिएको छ। सत्ता समीकरणको विषयमा ठोस निर्णय नगरेको बैठकमा बोल्ने अधिकांश सांसदले पार्टीको हित हुने गरी काम गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

सांसद मीन विश्वकर्माका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद र सत्ता समीकरणको विषयमा छलफल भए पनि नेकपाको कुन समूहलाई समर्थन गर्ने भन्ने विषयमा ठोस निर्णय हुन सकेन।

‘संसदीय दलको बैठकमा सबै साथीहरुले राय दिनुभएको छ’, सांसद् विश्वकर्माले भने, ‘तत्काल यताउता जाने भन्ने निष्कर्षमा नपुगी पार्टीको हित हुने गरी निर्णय दिनुपर्ने धारणा सबैले राख्नुभएको छ।’

सर्वोच्च अदालतले समेत प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिसकेको अवस्थामा संसदमा अविश्वासको प्रस्ताव दर्ता भए कसको समर्थन गर्दा पार्टीको हित हुन्छ र नैतिक रुपमा पार्टीलाई राम्रो हुन्छ त्यही ढंगले निर्णय लिन सुझाव दिएको उनको भनाइ छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेको बताए। सर्वोच्चको यो फैसलाले संविधानवादको जित भएको उनको भनाइ छ।

बैठकमा प्रतिनिधिसभा बैठकमा कांग्रेसको रणनीतिको विषयमा व्यापाक छलफल भए पनि निर्णय नभएको उनले प्रष्ट पारे। अविश्वासको प्रस्तावको विषयमा अहिले नै निर्णय लिनु हतार हुने उनको भनाइ छ।

सांसद राजन केसीका अनुसार बैठकमा हाउसमा प्रतिपक्षी दलको भूमिका र प्रभावकारीताको विषयमा छलफल भएको छ। ‘हामी प्रतिपक्षको भूमिकामा छौँ’, सांसद केसीले भने, ‘हामीले हाउसमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। अहिले नै अन्य विषयमा निर्णय लिनु हतार हुन्छ भन्ने धारणा अधिकांश साथीको छ।’

बैठकमा बोल्ने केही सांसदले ओलीसँग सहकार्य गर्दा लोकतन्त्रमाथि नै प्रहार हुने धारणासमेत राखेका छन्। प्रतिनिधिसभा पुनस्र्थापना भएपछि निर्णयक भूमिकामा रहेको कांग्रेसले निर्णय गर्न नसक्दा तत्काल प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएर अगाडि बढ्ने सम्भावना देखिएको छैन।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने बताइ सकेका छन्। शुत्रबार दिउँसो मात्र बसेको नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाइसकेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome