शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

एमाले नछोडेका नेताहरुलाई एमालेमै बस्न प्रचण्डको सुझाव

२८ फाल्गुन, २०७७ १६:०७ मा प्रकाशित

610 पटक पढिएको

pushpa kamal dahal prachanda

बुटवल – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’ लाई एमालेमै बस्न सुझाव दिएका छन् ।

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । केही साथीले बादललगायत नेतालाई फकाउन सुझाव दिएको तर आफूलाई फकाउन मन नलागेको भन्दै उनले यस्तो बताएका हुन् ।

‘भो ति फर्किनु परेको छैन, उतै बसे हुन्छ’, प्रचण्डले भने, ‘ति यहाँ आए भाँडभैलो हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ । आफ्नै साथीहरु अन्यायमा परेजस्तो हुन्छ ।’

प्रचण्डले बदमासी गरेकालाई फकाउँदा गल्ती हुने बताए । सर्वोच्च अदालतले प्रचण्ड र केपी ओली नेतृत्वको नेकपालाई खारेज गरेपछि ओली समूहमा गएका नेताप्रति लक्षित गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पार्टी अलगअलग हुँदा माओवादीका नेताहरु बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापालगायत नेता एमालेमै छन् । प्रचण्ड समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता एमालेमा फर्किए पनि माओवादीका नेताले ओलीको साथ नछोडेका हुन् ।

प्रचण्डले पहिचान, अस्तित्व र इतिहास बिर्सिएर जानु जस्तो धिक्कार केही नभएको बताए । उनले विचार र आस्थामा रहँदामात्र क्रान्तिकारी हुनुको गर्वबोध हुने प्रष्ट पारे ।

‘केही केही गए तिनिहरु अस्तित्वहीन भएर गए । पहिचान, आफ्नो धर्ती, आफ्नो आधार, इतिहास र विरासत छोडेर भाग्नु भन्दा धिक्कार जीवनमा अरु केही हुनै सक्दैन’, प्रचण्डले भने, ‘मान्छे बाँच्छ आस्थाको निम्ति, विचारको निम्ति, मर्छ आस्थाको निम्ति विचारको निम्ति । त्यसैमा मानव र क्रान्तिकारी हुनुको गर्वबोध हुने हो ।’

‘माधवजीहरुले छिट्टै एमाले कब्जा गर्नुहुन्छ’

प्रचण्डले माधव नेपाल समूहले छिट्टै एमाले कब्जा गर्ने बताए । उनले त्यसपछि ओलीलाई बाहिर हटाएर विद्रोह गर्ने बताए । उनले त्यसपछि फेरि माधव नेपाल र झलानाथ खनालसँग मिलेर कम्युनिस्ट आन्दोलनको ठूलो शक्ति बन्ने विश्वास व्यक्त गरेका छन् ।

‘माधवजी र झलनाथ दुई नेतासँग देशभर गएर कुरा राखेका छौँ । यसले हाम्रो संगठन विस्तार भएको छ । यो कुराले या त माधवजीहरुले छिट्टै एमाले ‘क्याप्चर’ गर्ने स्थिति हुन्छ र केपी ओलीलाई बाहिर हटाउने स्थिति बन्छ । होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ’, प्रचण्डले भने, ‘उहाँहरु र हामी मिलेर फेरि कम्युनिस्ट आन्दोलनको ठूलो शक्ति बन्छ । यो विश्वास मैले लिएको छु ।’

फेरि हिंसामा जाने भनेको छैन, भ्रममा नपर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा क्रान्ति आवश्यक रहेको बताएका छन् । परिवर्तन उल्ट्याउन खोजिएको भन्दै त्यसलाई परास्त गर्न क्रान्ति गर्नुपर्ने उनले बताए ।

बुटवलमा दलित पत्रकार महासंघको प्रथम अधिवेशन उद्घाटनमा बोल्दै उनले क्रान्ति हिंसात्मक नभइ शान्तिपूर्ण रहने बताए । देशमा प्रतिगामी सलबलाएको र देशलाई अनिष्टमा धकेल्न प्रयत्न भएको प्रचण्डको भनाइ छ।

शान्तिप्रक्रियाको एक हस्ताक्षरकर्ता ममाथि चारैतिरबाट प्रहार भएको उनले उल्लेख गरे। तर संविधानको रक्षा र प्राप्त उपलब्धि जोगाउन गणतन्त्र विरोधीलाई पररास्त गर्नुपर्ने उनले बताए ।

‘फेरि विद्रोह गर्नुपर्ने, फेरि हिंसामा जानुपर्ने कुरा गरेको होइन। कोहीकसैलाई भ्रम नपरोस्,’ हामीले लडेर स्थापित गरेका मान्यताहरु, प्रणालीहरुलाई कुनै प्रतिक्रियावादी तत्वहरुले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण ढंगले एउटा क्रान्ति गर्नुपर्छ भनेर भनेको हुँ,’ उनले भने।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome