शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

कोरोना संक्रमित बढेसँगै वीरगन्जका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

९ श्रावण, २०७७ १७:१८ मा प्रकाशित

676 पटक पढिएको

national medical college birgunj

वीरगन्ज – स्वास्थ्यकर्मी र बिरामीमा समेत कोरोना संक्रमण भेटिन थालेपछि वीरगन्जका सरकारी र निजी अस्पतालहरुमा शुक्रबारदेखि आकस्मिक उपचार बाहेकका अरु सबै सेवा बन्द गरिएको छ। कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएको भन्दै नेपाल चिकित्सक संघको आग्रहमा अस्पतालहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका अरु सबै सेवा बन्द गरेका हुन्।

वीरगन्जमा एक सरकारी र १२ भन्दा बढि निजी अस्पताल र शिक्षण अस्पताल (मेडिकल कलेज ) छन्। संक्रमित फेला परेका एडभान्स हस्पिटल, अलि अर्थो ट्रमा सेन्टर र शान्ति पोली क्लिनिक भने यसअघि नै सिल भइसकेका छन्। संघको आग्रहमा सरकारी तथा निजी अस्पताल र मेडिकल कलेज सबैमा आकस्मिक बाहेकका अरु सबै उपचार सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको चिकित्सक संघ वीरगन्ज शाखका सचिव डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

संघले विज्ञप्ति जारी गरेपछि वीरगन्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालमा आकस्मिक र प्रसुती विभागबाहेक अरु सबै उपचार सेवा बन्द गरिएको अस्पतालका निमित्त मेसु डाक्टर सुरेन्द्र चौधरीले जानकारी दिए। उनका अनुसार मेडिसिन, सर्जरी , अर्थो र आइसियु कक्षबाट बिरामीलाइ डिस्चार्ज गरी खाली गराइएको छ। ‘अहिले इमरजेन्सी र गाइनो वार्ड मात्र चलिरहेको छ’ , चौधरीले भने ,‘यीबाहेक अरु सबै विभाग बन्द गरिएको छ।

वीरगन्ज हेल्थ केयर अस्पतालमा पनि शुक्रबारदेखि बहिरङग (ओपीडी) सेवा बन्द गरिएको अस्पतालका सन्चालक डाक्टर अबुल हयश अन्सारीले जानकारी दिए।

जोखिम बढेपछि अस्पताल बन्द गरेका हौँ – सचिव सिंह

वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेकोले अस्पताल , स्वास्थ्यकर्मीका साथै उपचारका लागि आउने बिरामी समेत उच्च जोखीममा पर्ने भएकाले अस्पताल र क्लीनीक बन्द गर्न संघले आग्रह गरेको सचिव सिंहले बताए।

वीरगन्जमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको छ , उनले भने ,‘डाक्टर , बिरामीमा पनि संक्रमण फेला परिरहेको छ, त्यसैले अब थप नयाँ मानिसमा संक्रमण नसरोस् भनेर संघले यो निर्णय गरेको हो। वीरगन्जमा बुधबार राति दुई जना चिकित्सक र अस्पतालमा भर्ना गरिएका ५ जना बिरामीमा संक्रमण पुष्टि भएपछि चिकित्सक संघले शुक्रबार विज्ञप्ति नै निकालेर साउन ९ देखि अर्को सुचना नआएसम्मका लागि सबै अस्पताल र क्लनीकहरु बन्द गर्न आग्रह गरेको हो।

संघले निजी क्लिनिक पनि बन्द गर्न आग्रह गरेको भएपनि वीरगन्जका केहि निजी क्लिनिकहरु भने सन्चालनमै रहेका छन्।हामीले निजी क्लिनिक पनि बन्द गर्न आग्रह गरेका छौँ , संघका सचिव डाक्टर सिंहले भने ,‘ तर केहि चिकित्सकले आफ्नो ज्यान नै जोखिममा राखेर काम गर्छन् भने हामी रोक्न जादैँनौं।’

अस्पताल बन्द हुँदा बिरामी समस्यामा

वीरगन्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालमा शुक्रबारदेखि आकस्मिकबाहेक ओपडिसहितका अरु सबै सेवा बन्द भएपछि भने बिरामी समस्यामा परेका छन्। उपचारका लागि शुक्रबार बिहान अस्पतालमा पुगेका बिरामीहरु, अस्पताल बन्द भएको सुचना पाएपछि बिचल्लीमा परेका हुन्।

उपचारका लागि पुगेका बिरामी र सेवाग्राहीलाई , अस्पतालका सुरक्षागार्डले गेटबाटै फर्काइ दिने गरेका छन्। सुरक्षागार्डले अस्पतालको गेटबाटै फर्काइ दिएपछि बिरामी छोरालाई बोकेर घर फर्किँदै गरेका हरपतगन्जका किशोरी पडितले भने ,‘ प्राइभेट क्लिनिकमा इलाज (उपचार) गराउने पैसा छैन , सरकारी अस्पतालमा सस्तोमै इलाज हुन्थ्यो तर अस्पताल नै बन्द छ।’ शुक्रबार अस्पतालको गेटमा भेटिएकी वीरगन्ज पिपराकी सुगान्धी देवीले भनिन् ,‘सरकारी अस्पताल नै बन्द गरिदिएछन् , अब गरिबहरु इलाज नै नपाएर मर्ने भइयो।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome