बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

प्रचण्डको राजनीति लाजमर्दो : कमल थापा

९ चैत्र, २०७७ १८:१६ मा प्रकाशित

227 पटक पढिएको

kamal thapa

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘लाजमर्दो राजनीति’ भन्दै टिप्पणी गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई गम्भीर आरोप लगाउँदै सरकारलाई दिएको समर्थन पनि कायमै राखेकोमा नेता थापाले टिप्पणी गरेका हुन् ।

प्रचण्डले आइतबार प्रधानमन्त्री ओलीलाई विदेशीबाट पालित पोषित भन्दै आरोप लगाएकोमा नेता थापाले प्रतिटिप्पणी गरेका हुन् । थापाले सोमबार सामाजिक सञ्‍जालमार्फत् २ पटक प्रधानमन्त्री भइसकेका दाहालले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र प्रधानमन्त्रीलाई आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताए ।

‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओली लाई वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ। यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’ थापाले ट्वीटरमा लेखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले भने आइतबार एक कार्यक्रममा ‘केपी शर्मा ओलीलाई २०/२५ वर्षदेखि विदेशीले हुर्काएको र पालित-पोषित गरेको’ टिप्पणी गरेका थिए ।

‘संविधान पनि सिध्याउन सक्ने केपी ओली नै रहेछन् । गणतन्त्र सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने, पहाडीया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न पनि सजिलै सक्ने, २०/२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित पोषित को हो हेर्दै जाँदा केपी नै देखियो’ दाहालले भनेका थिए ।

नेकपा नाममाथि परेको मुद्दामा सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलासँगै पुरानै एमाले र माओवादी केन्द्र फेरि अस्तित्वमा आएका छन् । तर पनि तत्कालिन माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा र लेखराज भट्ट मन्त्री नै छन् । र उनीहरु माओवादीमा नफर्किने घोषणा गरिसकेका छन् । यसर्थ माओवादी केन्द्रले ती मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome