शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

नेपाल–भारत सीमामा सतर्कता

११ चैत्र, २०७७ १०:४१ मा प्रकाशित

461 पटक पढिएको

jogbani border

काठमाडौं – नेपाल–भारत सीमा नाकाबाट आउजाउ बढेसँगै दुवै पक्षले सतर्कता अपनाउन थालेका छन्। भारतमा फेरि कोरोना भाइरस संक्रमण बढेपछि नेपालीहरू धमाधम फर्किन थालेका छन्। नेपालबाट पनि भारत आउजाउ गर्ने क्रम उस्तै छ। विभिन्न नाकामा भारतबाट फर्किने नेपालीको एन्टिजेन परीक्षण गर्न थालिएको छ। कतै स्वास्थ्य जाँचपछि मात्रै प्रवेश गर्न दिइन थालेको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गरिरहेको बताए। ‘हामीले नाकामा एन्टिजेन परीक्षण सुरु गरिसकेका छौँ’, फोकल पर्सन भट्टले भने, ‘अहिलेसम्म तीन जनामा पोजिटिभ देखिएको छ, ती आइसोलेसनमा छन्।’

गड्डाचौकीबाट मंगलबार भित्रिन लागेका कञ्चनपुरको पुनर्बासका १९ वर्षीय पुरुषमा पोजिटिभ देखिएको छ। कैलालीको गौरीफन्टा नाकाबाट भित्रिन लागेका पाँच जनामा पनि एन्टिजेन पोजिटिभ देखिएको जनाइएको छ। तर, स्थानीय प्रशासनले नाका व्यवस्थापन गर्न सकेको छैन। कञ्चनपुरमा मंगलबार पोजिटिभ देखिएका व्यक्तिलाई अस्पतालको आइसोलेसन कक्षसम्म पुर्‍याउन एम्बुलेन्स पाइएन। संक्रमित बोक्ने एम्बुलेन्स बिग्रिएर थन्किएको छ।

‘महाकाली अस्पतालमा रहेको आइसोलेसनसमेत बन्द छ’, एक स्वास्थ्यकर्मीले भने, ‘नाकामा पोजिटिभ केस आएपछि आइसोलेसनसम्म पुर्‍याउन धेरै समस्या हुने गरेको छ।’

उनले सोमबार पनि महाराष्ट्रबाट आएका एक जनामा पोजिटिभ देखिएको बताए। ती संक्रमितको व्यवस्थापन गर्न नसक्दा बस चढाएर उनलाई घर पठाइएको ती स्वास्थ्यकर्मीले बताए।

फोकल पर्सन भट्टले स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा समस्या भइरहेको बताए। ‘स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग गरिरहेको छ। हामीले नाकामा एन्टिजेन परीक्षण गरिरहेका छौँ’, भट्टले भने, ‘अन्य व्यवस्थापनको पाटो स्थानीय सरकारको हो।’

कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट दैनिक ५ सयदेखि हजार नेपाली फर्किरहेका छन्। दुवै नाकाको तथ्यांक कञ्चनपुर प्रशासनले संकलन गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार चैत १ देखि स्वदेश फर्किनेको संख्या दैनिक ५ सयभन्दा बढी छ। ‘दुवै नाकाबाट दैनिक चार–पाँच सयको संख्यामा भित्रिरहेका छन्’, जिल्ला प्रहरी कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले भने, ‘भारतका केही सहरमा लकडाउनपछि नाकामा आवतजावत बढेको छ।’

चोरबाटो हुलका हुल

प्रदेश १ का मुख्य दुई नाकामध्ये रानी–जोगबनी बन्दप्रायः छ। तर, काँकडभिट्टा–पानीट्यांकीबाट बाक्लो आउजाउ चलिरहेको छ। यता रानीको मुख्य गेटमा ताला लागे पनि एक किलोमिटर आसपासबाट चोरबाटो हुँदै हुलका हुल आवतजावत गर्छन्।

काँकडभिट्टा–पानीट्यांकीमा रहेको मेची पुलमा बिहानदेखि घुइँचो लाग्ने गरेको छ। भारतीय पक्षले आफ्नो मुलुकमा आउनेलाई बिहान ९ बजेपछि मात्र प्रवेश दिने गरेको छ। भारतीय पक्षले आउनेको स्वास्थ्य परीक्षण गर्ने भए पनि नेपाल प्रवेश गर्नेलाई कुनै परीक्षण गरिँदैन। काँकडभिट्टा नाका भएर विभिन्न जिल्लाका नेपाली भारतबाट भित्रिन्छन्।

सरकारले एक महिनाअघि अनलाइन फारम भरेपछि भारतीयलाई प्रवेश गर्न दिने नियम बनाएको थियो। रानी–जोगबनीबाट सोही नियममा रही दैनिक १०–१२ जना मात्र आवतजावत गर्छन्। तर, हजारौंले चोरबाटो रोज्ने गरेका छन्। पुरानो रानी गेट यात्रु आवतजावत गर्ने नाका मात्र भएकाले ताला लगाए पनि जोगबनी किनमेल गर्न जानेहरू अन्य ठाउँबाट दैनिक ओहोरदोहोर गर्छन्।

भारतमा फेरि कोरोना संक्रमण बढेपछि मुख्य नाकामा हेल्थ डेस्क राख्न प्रशासनले चासो देखाए पनि अन्य ठाउँबाट आवतजावत हुने क्रम रोक्न कुनै निर्णय छैन। रानी–जोगबनी नाकामा सोमबारदेखि हेल्थ डेस्क सक्रिय गराइएको छ। डेस्कमार्फत नेपाल प्रवेश गर्न चाहनेको परीक्षण तत्कालै गर्ने व्यवस्था मिलाइएको छ। परीक्षणपछि नेपाल आउनेमा कोरोना संक्रमण भए/नभएको यकिन हुने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। भारतबाट आउनेहरू कोरोना परीक्षणपछि मात्रै प्रवेश गर्न पाउने निरौलाको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण थप फैलन नदिन बेलैमा सतर्कता आवश्यक रहेको निष्कर्ष निकालेको छ।

मोरङमा पनि संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउने निर्णय बैठकले गरेको छ। निरौलाका अनुसार शंकास्पद व्यक्तिको नाकामै एन्टिजेन परीक्षण गरिनेछ। एन्टिजेन जाँच गर्दा कोरोना भए/नभएको तत्कालै रिपोर्ट आउने निरौलाले बताए। रिपोर्ट पोजिटिभ आए थप परीक्षण तथा उपचारका लागि पठाइने, नेगेटिभ आउनेलाई गन्तव्यतर्फ जान दिइने उनको भनाइ छ।

महोत्तरीको भिठ्ठामोड भारतबाट भित्रिने प्रमुख नाकामध्ये एक हो। यो नाका एक वर्षदेखि बन्द छ। नेपाल पक्षले तारबार हटाएर आउजाउ खुला गरे पनि भारतीय सीमा सुरक्षा बलले भारत प्रवेशमा रोक लगाएको छ। तर, मुख्य प्रवेशद्वारको छेउबाटै खेतको बाटो भएर निर्बाध आउजाउ चलिरहेको छ। धनुषाका जटही, मधवापुरलगायत अन्य नाकाबाहेक पनि वैकल्पिक बाटो प्रयोग गरी आउजाउ हुने गरेको छ।

‘सीमाहरूमा न हेल्थ डेस्क छ न त कुनै प्रकारको सुरक्षा सतर्कता अपनाइएको छ। यसले महामारीको जोखिम अझ उच्च हुन्छ’, स्वास्थ्य क्षेत्रमा कार्यरत शिवशंकर मिश्रले भने, ‘यसअघि पनि भारतबाटै आएकाहरूका कारण कोरोना बढी फैलिएको थियो। पहिला सावधानी नअपनाउने र पछि पछुताउने बानी फेरि पनि दोहिरिँदै छ।’

४ सय ३१ किलोमिटर खुला सिमाना रहेको प्रदेश २ मा दुई देश पस्न अनेकौं चोरबाटा छन्। यी चोरबाटामा निरन्तर निगरानी गाह्रो रहेको सुरक्षा अधिकारी बताउँछन्। सीमा क्षेत्रमा बस्नेहरूले आफैं सुरक्षा सतर्कता अपनाएर जोखिम न्यूनीकरण गर्नुपर्ने सुझाव सुरक्षा अधिकारीको छ।

रूपन्देहीस्थित बेलहिया नाका नाका भएर दैनिक हजारौंको आउजाउ हुन्छ। तर, मास्कसमेत लगाएको देखिँदैन। हेल्थ डेस्कमा दुई दिनदेखि शरीरको तापक्रम जाँच गर्न थालिएको छ। हेल्थ डेस्कमा सिद्धार्थनगर नगरपालिकाबाट तीन अहेव र एक ल्याब प्राविधिक खटिएका छन्। तर, जनशक्ति अभावमा स्वास्थ्यकर्मीले एक जनाको शरीरको तापक्रम जाँच गर्दा २०–२५ जना बिनाजाँच प्रवेश गर्ने गरेका छन्।‘हामीले उता (भारत)बाट आउनेको शरीरको तापक्रम जाँच गर्ने गरेका छौं’, हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी लालमोहन चौधरीले भने, ‘शंकास्पद लागेको अवस्थामा एन्टिजन किटमार्फत कोरोना परीक्षण सुरु गरेका छौं।’

भारतका विभिन्न स्थानबाट झिटीगुन्टा बोकेर आउनेको नाम, ठेगानासहितको अभिलेख राख्ने गरिए पनि स्थानीयको अभिलेख राख्ने गरिएको छैन। नगरपालिकाको सहायतामा यूएसएआईडीअन्तर्गत स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाले नाकामा कोरोना परीक्षणको व्यवस्था मिलाएको छ।

‘स्क्रिनिङ डेस्कमा कोही व्यक्तिमा शंका लागे स्वास्थ्य परीक्षण स्थलमा लगेर कोरोना परीक्षण गर्छौं’, परियोजनाका स्वास्थ्य आपत्कालीन निगरानी अधिकृत रजनीश चौधरीले भने, ‘पोजिटिभ देखिए स्वास्थ्य अवस्थाअनुसार होम आइसोलेसन वा अस्पतालमा पठाउने व्यवस्था मिलाइएको छ।’ नाकाबाट स्थानीय, विद्यार्थी, बिरामी, सैनिक, कामदारलगायत आउजाउ गरिरहेका छन्।

आयात–निर्यात निर्बाध

भारतमा कोरोना बढे पनि कैलाली र कञ्चनपुर भन्सार कार्यालयमा त्यसको असर देखिएको छैन। कञ्चनपुर भन्सार कार्यालयले भारतबाट निर्बाध रूपमा आयात भइरहेको जनाएको छ।
कार्यालयका सूचना अधिकारी केशवराज विष्टले निर्बाध रूपमा आयात–निर्यात भइरहेको बताए।

विष्टका अनुसार फागुनमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। ‘हामीले २२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएका थियौं, २६ करोड संकलन गरेका छौं’, उनले भने, ‘लकडाउनपछि साइकलमा आउने सामान पनि गाडीमा आउन थालेको छ।’

कैलाली भन्सार कार्यालय प्रमुख नरबहादुर थापाले भारतमा कोरोना बढेपछि पनि आपूर्तिमा कुनै असर नपरेको बताए। ‘आयात–निर्यातमा कुनै फरक परेको छैन, सबै सामान निर्बाध रूपमा आइरहेको छ’, थापाले भने।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome