मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

पार्टी संस्थापक सूर्यबहादुर थापाका छोरासहित ३१ राप्रपा नेताको संयुक्त राजीनामा, कांग्रेस प्रवेश गर्ने तयारी

११ श्रावण, २०७७ ०६:५६ मा प्रकाशित

681 पटक पढिएको

sunil thapa resigns from rpp with 30 more leaders

काठमाडौं – शनिबार साँझ संयुक्त रुपमा राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले नेपाली कांग्रेस प्रवेश गर्ने तयारी गरेका छन्। यही साता कांग्रेस प्रवेश गर्नेगरी तयारी भइरहेको राप्रपा छोडेका नेता किरण गिरीले जानकारी दिए। नेता गिरीले कांग्रेस प्रवेश गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेको स्वीकार गरेका छन्।

कांग्रेसका एक नेताले मंगलबार नै राप्रपा छोडेका नेतालाई पर्टीमा स्वागत गर्ने बताए। ‘राप्रपाबाट राजीनामा दिएका नेताहरु मंगलबार कांग्रेस प्रवेश गर्नुहुन्छ’, कांग्रेसका ति नेताले भने, ‘पार्टी कार्यालयमा विशेष कार्यक्रम गरेर स्वागत गर्छौँ।’

यता राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको छोराले आफ्नै बुवाले स्थापना गरेको पार्टी छोडेर गम्भीर भूल गरेको बताए। उनले पार्टीले राष्ट्रवादी शक्ति निर्माणको पहल गरिरहेको र त्यसमा असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्ने बताए।

‘यो सन्दर्भमा पार्टीमा छलफल हुन्छ। उहाँहरुले ठूलो राजनीतिक भूल गर्नुभएको छ। देशमा राष्ट्रवादी शक्ति निर्माणका लागि हाम्रो पार्टी लागि परेको छ’, नेता श्रेष्ठले भने, ‘राष्ट्रवादी शक्ति निर्माणका निम्ति असन्तुष्ट पक्षलाई पनि समेटेर अघि बढ्छौँ।’

शनिबार पार्टीका तीन अध्यक्षलाई संयुक्त राजीनामा पत्र लेख्दै राप्रपाका नेताहरुले संयुक्त राजीनामा दिएका हुन्। ३१ नेताले राजीनामा दिएको बताइए पनि राजीनामा पत्रमा भने १९ नेताको मात्र नाम समेटिएको छ।

संयुक्त राजीनामा पत्रमा पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपछि पार्टीले सवल नेतृत्व, सैद्धान्तिक र वैचारिक मान्यता गुमाएको आरोप लगाइएको छ।

‘पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधन पश्चात् पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको छ’, राजीनामा पत्रमा भनिएको छ, ‘संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ। ’

स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको उनीहरुको भनाइ छ।

‘संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ’, राजीनामा पत्रमा थप भनिएको छ, ‘राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो।’

पार्टीको प्रतिबद्धता र आम जनमत विपरित पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दा पनि सुनुवाइ नभएपछि पार्टी छोड्नु परेको राजीनामा पत्रमा उल्लेख छ।

‘हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकुल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निष्कर्षमा पुगेका छौँ’, राजीनामा पत्रमा थप भनिएको छ, ‘उदार प्रजातन्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्दछौं।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome