सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

केही दिनमै समर्थन फिर्ता लिन्छौँ : प्रचण्ड

१४ चैत्र, २०७७ १६:३३ मा प्रकाशित

623 पटक पढिएको

pushpa kamal dahal prachanda

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । शनिबार राजधानीमा आयोजित बृहत् नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले अब राजनीति जतासुकै गए पनि आफ्नो राजनीति र नैतिकतालाई बचाउन समर्थन फिर्ता लिने प्रष्ट पारेका हुन् ।

‘नैतिक र राजनीतिक ढंगले अब म धेरै दिन पर्खिन सक्दिन’, प्रचण्डले भने, ‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई समर्थन गर्न सक्दिन । चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्नेछ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

प्रचण्डले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगामी र असंवैधानिक भन्ने राजनीतिक दलबीच एउटा सहमति गरेर समर्थन फिर्ता लिने तयारी गरेकाले ढिलो भएको समेत स्वीकार गरेका छन् ।

‘अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगैहोस् भन्नको निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एक दुई दिन रोकेको हो’, प्रचण्डले भने, ‘मेरो सिधा भाषा यही हो ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि आफूहरुले ब्याटल जितेको अनुभव गरेर गल्ती गरेकोसमेत प्रचण्डले स्वीकार गरेका छन् । पुनस्र्थापना भए लगत्तै दोस्रो योजना बनाएर गम्भीर ढंगले लाग्न नसक्दा यो अवस्था आएको उनको भनाइ छ ।

‘संसद पुनस्र्थापना हुँदा हामीले दोस्रो ब्याटल जितेको अनुभूत गर्यौँ । संसद पुनस्र्थापनापछि प्रधानमन्त्रीले राजीनामा दिने अनुभूति गरेर बस्यौँ’, उनले भने, ‘संसद पुनस्र्थापनापछि हामीले थोरै रिल्याक्स गर्यौँ र दोस्रो योजनामा गम्भीर बनेनौँ । रिल्याक्स नै गल्ती भयो ।’

उनले एकपछि अर्को तयारी नगरेर आफूहरु चुकेको स्वीकार गरे । सोचेजस्तो नभएको उनको भनाइ छ । सर्वोच्च अदालतलको निर्णलाई स्वीकार गरे पनि आफूहरु पार्टीका विषयमा भएको निर्णयप्रति सन्तुष्ट नरहेको उनको भनाइ छ । सर्वोच्चले भनेको मान्ने पर्ने भए पनि असहमतिका साथ मानेको भन्दै उनले पुनरावलोकनमा जाने बताए ।

प्रचण्डले केही साथीले सडकमा भएका बेला सरकारलाई दिएको समर्थन जबरजस्त फिर्ता नलिन सुझाव दिएकाले मात्र अहिलेसम्म रोकेको बताए । उनले कसले समर्थन फिर्ता नगर्न दबाब दिएको थियो भन्ने कुरा भने खुलाएनन् ।

नेपाली राजनीतिमा दिउँसै रात पार्ने काम भएको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेपाली राजनीतिमा दिउँसै रात पार्ने काम भएको बताएका छन् । शनिबार राजधानीमा आयोजित नागरिक आन्दोलनको बहसमा बोल्दै उनले सेटिङको आधारमा निर्वाचन आयोगले गरेको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश प्रवृतिले गर्दा नेपाली राजनीतिमा दिउँसै रात परेको उनले बताए ।

‘पार्टीको दुई तिहाइ बढीले केपीको प्रवृति निरंकुश भएकोले पार्टीको अध्यक्षबाट हटाइएको हो। सत्तरी प्रतिशतले उनीसँग स्पस्टीकरण मागेको र नदिएपछि सदस्यबाट पनि बहुमतले हटाए’, उनले भने, ‘त्यहाँबाट हटाएर मात्र नपुग्ने भनेपछि फागुन २३ गते बहुमत हस्ताक्षरसहित संसदीय दलको सचिवालयमा गएर ज्ञापनपत्र बुझाएको। संसदीय दलको बहुमत र केन्द्रीय समितिको दुई तिहाइ भएपछि पनि निर्वाचन आयोगबाट निर्णय गरिंदैन । किनकि त्यो सबै सेटिङमा भएको हो।’

निर्वाचन आयोगको कार्यबाट सबैभन्दा बढी पीडित आफू नै भएको बताउँदै दहालले भने, ‘मैले वैधानिक ढंगले नै ओलीलाई सदस्यबाट पनि निकालेकै हो । वैधानिक आधारमा ७० प्रतिशत सहभागीता सहितले निकालेकै हो । जन्मिसकेको बच्चालाई फेरि गर्भमा हाल्ने काम निर्वाचन आयोगले गर्‍यो। यसबाट सबैभन्दा बढी पीडित म र मैले नेतृत्व गरेको पार्टी नै भएको छ।’

उनले निर्वाचन आयोग र प्रम ओलीले संविधानमा हुँदै नभएको कुरा गर्दा पनि त्यसलाई राष्ट्रिय अन्तरराष्ट्रिय सहमति प्राप्त भएकोमा अचम्म लागेको बताए ।

नागरिक आन्दोलनलाई संवोधन गर्दै उनले भने, ‘प्रचण्डले कम्युनिष्ट जुटाउने काम गर्‍यो र बल्ल खायो भन्ने लागेको होला । मैले राजनीतिक स्थायित्वतिर लान खोजेको मात्र हो ।’

पार्टी र परिवारभित्र भएको ठूलो बलिदान र आफूले गरेको कामलाई मध्यनजर गर्दै नागरिक आन्दोलनका अगुवाले जे सल्लाह दिन्छन् त्यसलाई कार्यनवयन गर्ने उनले बताए।

उनले संसद् पुनर्स्थापना गराउन सफल कार्यलाई सम्झंदै भने, ‘संसद् पुनर्स्थापना गराउन सफल भएका छौं । यो नयाँ प्रकारको जनयुद्ध जितिएको नागरिक आन्दोलनमा सहभागी बेस्ट ब्रेनको आधारमा नै भएको हो ।’

राजनितिक विकास र स्थायित्वको निम्ति पार्टी एकता र गठबन्धन आफैंले गरेको भए पनि उनले पार्टिभित्र ओलीको निरंकुश प्रवित्तिका विरुद्ध विद्रोहको झन्डा उठाउने पनि आफैं भएको बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome