शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

म्यानमारमा मानव संहार : एकै दिन ९१ प्रदर्शनकारी मारिए

१५ चैत्र, २०७७ १३:४५ मा प्रकाशित

1003 पटक पढिएको

protesters killed in myanmar

काठमाडौं – म्यानमारमा प्रदर्शन चर्किंदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ। शनिबार एकै दिन देशभर ९१ जना प्रदर्शनकारी मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। सेनाले सशस्त्र बल दिवसका अवसरमा शक्ति प्रदर्शन गरेपछि शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त दिन बनेको हो।

राजधानी सहर नेप्याइडमा आयोजित सेनाको कार्यक्रममा कुनै पनि किसिमको अवरोध गर्न खोज्नेलाई टाउको र ढाडमा गोली हान्न सकिने चेतावनी दिइएको थियो। तर, त्यसको बेवास्ता गर्दै यांगुन, मन्डलेलगायत सहरमा नागरिक सडकमा उत्रिएका थिए।

आन्दोलनमा हालसम्म हजारौं घाइते भएका छन्। ३ हजारभन्दा बढी पक्राउ परेका छन्। शुक्रबारसम्म मृत्यु हुनेको संख्या ३ सय २८ नाघेको थियो। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले मुख्य सहर यांगुन र दोस्रो ठूलो सहर मन्डलेमा अझै बढी संख्यामा प्रदर्शनकारी मारिएको हुन सक्ने जनाएको छ। उक्त संस्थाका अनुसार शव बोक्ने तथा घाइतेको उद्धार गर्ने स्वयंसेवकलाई कुटपिट गरिएको छ। एम्बुलेन्स जलाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार मन्डलेमा मारिएका २९ जनामध्ये हालसम्मकै सबैभन्दा कान्छो पाँच वर्षीय बालकसमेत परेका छन्। यसअघि बाबुको काखमा खेलिरहेकी सात वर्षीया खिन म्यो चिटको गत मंगलबार सेनाको गोली लागेर ज्यान गएको थियो। सेनाले घरभित्रै पसेर चलाएको गोली उनको पेटमा लागेको थियो। सेभ द चिल्ड्रेनका अनुसार प्रदर्शनमा कम्तीमा २० बालबालिकाले ज्यान गुमाएका छन्।

मन्डलेमा गत सोमबार सेनाको गोली लागेर १४ वर्षीय बालकको घरभित्रै मृत्यु भएको थियो। एक म्यानमारीले ती बालकप्रति श्रद्धाञ्जली अर्पण गर्दै ट्विट गरे, ‘स्वर्गमा जुन्ता हुँदैनन्। किनभने उनीहरू सबै नर्कमै कुहिनेछन्।’

सेनाका ‘स्नाइपर’ले प्रदर्शनकारीका टाउको ताकेरै गोली हानेका दृश्य सामाजिक सञ्जालमा व्याप्त छन्। मन्डलेका एक व्यक्तिले मंगलबार राति ट्विटरमा भिडियो राख्दै मेसिन गनको आवाज सुनिएको बताएका थिए।

सैन्य अधिकारीले भने यसको दोष जनतालाई थोपर्ने गरेका छन्। सैन्य सरकारका तर्फबाट ज मिन टुनले गत साता पत्रकार सम्मेलनमा रक्तपातका लागि प्रदर्शनकारीलाई जिम्मेवार ठहर्‍याएका थिए। उनले एउटा फ्याक्ट्री जल्दै गरेको भिडियो देखाउँदै यस्तो प्रदर्शनलाई कुन देश वा संस्थाले शान्तिपूर्ण प्रदर्शनका रूपमा हेर्छ भन्दै प्रश्न गरे। उनले सुरक्षा बलका नौ सदस्य मारिएका जानकारी दिए। शनिबारको हिंसाबीच सेना प्रमुख मिन आङ हलाइङले सेनाले जनताको सुरक्षा गर्ने र प्रजातन्त्रका लागि प्रयासरत रहने बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome