बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

नरैनापुरमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट, ४ जना घाइते

२२ चैत्र, २०७७ १८:१७ मा प्रकाशित

843 पटक पढिएको

more than 100 houses gutted in fire narainapur

बुटवल – बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् ।

नरैनापुर गाउँपालिका–४ खोदावा गाउँमा शनिबार दिउँसो भएको आगलागी राति ११ बजेतिर नियन्त्रणमा आएको हो । आगलागीमा परी चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । घाइतेहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

हुरी चलेकाले बस्तीभरि आगलागी फैलिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । गाउँमा अधिकांश घर फुसको छानोका रहेकाले पनि आगलागी चाँडै नियन्त्रणमा ल्याउन नसकिएको उनले बताए ।

आगलागीबाट खाद्यान्न, कपडा जलेर नष्ट भएका छन् । आगलागीबाट करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको गाउँपालिका अध्यक्ष शाहले बताए ।

नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौं पटक हो । आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई खाने र बस्ने व्यवस्था गरेका छन् ।

जिल्ला आपतकालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रुपन ज्ञवालीका अनुसार फागुन र चैत महिनामा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । अव्यवस्थित बसोबास र कमजोर संरचनाका कारण आगलागीका घटना बढेको ज्ञवालीले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome