मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

व्यापक जनदबाबपछि भक्तपुरको बिस्का जात्रा रोक्ने निर्णय खारेज

२५ चैत्र, २०७७ १८:५२ मा प्रकाशित

368 पटक पढिएको

bisket jatra

भक्तपुर – व्यापक जनदबाबपछि भक्तपुर नगरपालिकाले बिस्का जात्राअन्तर्गत भैरवनाथ र भद्रकालीको रथ तान्ने, योसिङ (लिंगो) ठड्याउने तथा ढाल्ने जात्रा नरोक्ने भएको छ ।

भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाल र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको उपस्थितिमा बुधबार भएको भक्तपुर नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले बिस्का जात्रा गर्न दिने निर्णय गरेको हो ।

यसअघि चैत २२ गते बसेको प्रमुख जिल्ला अधिकारी भट्टराई नेतृत्वको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को बैठकले बिस्का जात्राअन्तर्गत रथ तान्ने तथा योसिङ ठड्याउने जात्रा रोक्ने निर्णय गरेको थियो । भक्तपुर नगरस्तरीय विपद् व्यवस्थापन समितिको चैत २३ गते बैठकले डीसीसीएमसीकै निर्णयलाई सदर गर्दै बिस्का जात्राअन्तर्गत रथ तान्ने तथा योसिङ ठड्याउने जात्रा रोक्ने निर्णय गरेको थियो ।

डीसीसीएमसी र भक्तपुर नगरपालिकाले बिस्का जात्रा रोक्ने निर्णय गरेलगत्तै बिस्का जात्रा सञ्चालन गर्नुपर्ने माग गर्दै भक्तपुरमा स्वःस्फुर्त प्रदर्शन हुँदै आएको छ । राजनीतिक सभा सम्मेलन, मेला नरोक्ने तर कोभिड १९ देखाएर जात्रामात्रै रोक्ने निर्णय फिर्ता लिन स्थानीयले व्यापक जनदबाब दिँदै आएका थिए । स्थानीयले जनदबाबस्वरुप बिस्का जात्रा रोक्न नपाइने भन्दै भक्तपुरको जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिका कार्यालय घेराउसमेत गरेका थिए ।

त्यस्तै उनीहरुले प्रमुख जिल्ला अधिकारी भट्टराई र भक्तपुर नपाका प्रमुख प्रजापतिलाई भेटेर जात्रा कुनै पनि हालतमा नरोक्ने चेतावनीसमेत दिएका थिए । सोही आधारमा भक्तपुर नगरस्तरीय विपद् व्यवस्थापन समितिले दुई दिनअघि गरेको आफ्नै निर्णयलाई उल्ट्याउँदैे बुधबार बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने र योसिङ ठड्याउने जात्रा गर्ने निर्णय गरेको हो ।
बैठकले ती जात्रा कोभिड १९ रोगको संक्रमणको जोमिखलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ ।

जात्रा सञ्चालनको प्रत्यक्ष प्रशारण टेलिभिजन, रेडियो एफएम र सामाजिक सञ्जालमार्फत गर्ने निर्णयसमेत गरिएको छ ।

बैठकले जात्रा अवधिमा शान्ति सुरक्षाको सबै बन्दोबस्त जिल्लास्थित सुरक्षा निकायमार्फत गर्ने बताएको छ ।

आठ दिन नौरातसम्म चल्ने भक्तपुरको बिस्का जात्रा यस वर्ष यहीं चैत २८ गतेदेखि सुरु हुँदैछ । त्यसको लागि भक्तपुर नपा ५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ निर्माण पूरा गरिसकिएको छ ।

त्यस्तै भक्तपुर नपा ५ कै योसिंखेलमा योसिङको लागि ५५ हात लामा दुई लिंगो काठको व्यवस्था भइसकेको छ ।

बिस्का जात्रा रोक्ने निर्णयविरुद्ध अन्तरिम आदेश

यसैबीच सर्वोच्च अदालतले भक्तपुरको बिस्का जात्रा रोक्ने निर्णयविरुद्ध बुधबार अन्तरिम आदेश दिएको छ ।

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णय बदर गरी पाउन माग गर्दै भक्तपुर नगरपालिका ५ निवासी ४३ वर्षीय अधिवक्ता राजकुमार सुवालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उक्त रिट निवेदनको बुधबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिस्का जात्रा रोक्ने कारण देखाउ आदेश जारी गरेको हो ।

अधिवक्ता सुवालले रिटमा नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश र अन्य आवश्यक आदेश जारी गर्न माग गरेका थिए । उनले बिस्का जात्रा रोक्ने निर्णय गर्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी), केन्द्रका प्रमुख प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर र गुठी संस्थान कार्यालय भक्तपुरलाई विपक्षी बनाएका छन् ।

रिट निवेदनमा नेपालमा लकडाउन आदेश जारी नगरिएको तथा कोभिड १९ को संक्रमण नियन्त्रित अवस्थामै रहेकाले एकतर्फी रुपमा बिस्का जात्रामात्रै रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गरिएको छ ।

त्यस्तै भक्तपुरको बिस्का जात्रा यहीं चैत २८ गतेबाट सुरु हुने भएकाले त्यसपछि आउने निर्णय निरर्थक हुने भन्दै रिट निवेदनमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (१), (२) र (३) बमोजिम निर्णय कार्यान्वयन कार्य रोकी यथास्थितिमा राख्नु राख्न लगाउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome